Logo

भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गरिने



काठमाडौं, पुस १ । सरकारले उखु किसानको रकम भुक्तानी नदिने छवटा चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । आइतबारदेखि काडमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानको मागलाई सम्बोधन गर्न मङ्गलबार गृह मन्त्रालयमा बसेको सम्बद्ध मन्त्रीहरू सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको उक्त बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल सहभागी रहेका थिए । गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईका अनुसार उखु किसानको ६० करोड रुपियाँभन्दा बढी रकम भुक्तान नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने निर्णय भएको हो । मन्त्रालयले पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई समेत निर्देशन दिएको जनाइएको छ ।

आन्दोलनरत पीडित किसानले भने रौतहट, सर्लाही र नवलपरासीमा सञ्चालित छवटा चिनी मिलबाट ९० करोड रुपियाँ भुक्तान हुन बाँकी रहेको जानकारी दिएका छन् । हाल बन्द रहेका चिनी मिल बिक्री गरेर भए पनि रकम पाउनुपर्ने माग किसानको छ । गृह मन्त्रालयका अनुसार रौतहटको श्रीराम सुगर मिल, सर्लाहीको महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिल, नवलपरासीको लुम्बिनी चिनी मिल, इन्दिरा सुगर मिल, बागमती खाँडसरी मिलले किसानको रकम भुक्तानी नगरेका आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्