Logo

ओली-प्रचण्ड निर्णायक संघर्षमा, नेकपा दुर्घटना नजिक



काठमाडौं, १ पौष । नेपाल कम्युनिस्ट पार्टीरुपी सवारीमा अहिले दुईजना चालक छन् । एकजना एकातर्फ सवारीलाई लान खोजिरहेका छन् भने अर्काचाहिं अर्कातर्फ । नेकपाभित्र दुई चालकको यही द्वन्द्वले दुर्घटनाको अवस्था ल्याएको छ ।

यसपटक नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै आक्रामक बनेका छन् । दुवैले एक अर्कालाई असफल प्रमाणित गर्न राजनीतिक प्रस्ताव सचिवालय हुँदै स्थायी कमिटीमा पुर्याएका छन् । जुन एक अर्काविरुद्ध आरोपले भरिएको छ । ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिएका छन् ।

पार्टी बैठकमा प्रचण्ड आक्रामक बनेपछि ओलीले घटनालाई अन्यत्र मोडिदिएका छन् । उनले संवैधानिक परिषदको बैठक डाकेर संवैधानिक निकायमा नियुक्तिको तयारी गरे । तर, त्यसमा पनि आफूले रोजेकालाई नियुक्त गर्न खोजे । यसमा ओलीलाई असफल बनाउन प्रचण्डले अर्को कार्ड प्रयोग गरे । सभामुख अग्नि सापकोटा संवैधानिक परिषदको बैठकमा सहभागी भएनन् ।

प्रचण्डले ओलीलाई संवैधानिक निकायमा नियुक्त गर्न रोक्न खोजेपछि ओली फेरि आक्रामक बने । उनले अध्यादेश ल्याएर संवैधानिक परिषदसम्बन्धी ऐन नै संशोधन गरे । बैठक राखी निर्णय त गरेनन् तर त्यसको तयारी गरिसकेका छन् ।

ओलीलाई अध्यादेश फिर्ता गराउन नेकपाभित्रबाट प्रचण्डले दबाब सृजना गरिरहेका छन् । तर, ओली मानिरहेका छैनन् । विश्वस्त स्रोतका अनुसार उनले यसमा पनि शर्त राखेका छन् । संवैधानिक निकायमा नियुक्तिमा सहमति देखि स्थायी कमिटीमा पुगेको राजनीतिक प्रतिवेदन फिर्ता सम्मको शर्त ओलीको छ । तर, प्रचण्ड मानेका छैनन् ।

ओलीले फेरि अन्य अध्यादेश समेत ल्याउने संकेत गरेका छन् । संसदको विशेष अधिवेशनका लागि २५ प्रतिशत सांसदको हस्ताक्षर लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेकपाका ओलीइतर समूहका नेताहरु पुगेका छन् । अधिवेशन डाक्नुपर्ने वाध्यात्मक अवस्था आएमा ओलीले फेरि अध्यादेश ल्याउन सक्नेछैनन् । त्यस्तो अवस्थामा उनीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता हुनसक्छ । यसलाई बुझेका ओलीले कठोर कदम चाल्ने सम्भावना पनि रहेको छ । त्यो अवस्था भनेको संसद बिघटन देखि मध्यावधि चुनावको घोषणा पनि हुनसक्छ ।

जहिले पनि राजनीतिमा आक्रामक बन्दै आएका ओली र प्रचण्ड दुवैको शक्तिसंघर्षले नेकपालाई दुर्घटना नजिक पुर्याएको छ । यसले देशको राजनीतिक व्यवस्थालाई नै जोखिममा पारेको छ ।



प्रतिक्रिया दिनुहोस्