Logo

नदी नियन्त्रण आयोजनाका प्रमुखसहित ५ जनामाथि अख्तियारको मुद्दा



काठमाडौं, १ पुस । नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनामाथि अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्का समयमा सम्पन्न गर्न नसकेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा प्रमुख श्रीवास्तवले परीक्षण नै नगरी प्रयोग भएको ग्यावियन तारलाई स्वीकृत स्पेशिफिकेशन बमोजिम गुणस्तरयुक्त भएको हो भनी प्रमाणित गरी भुक्तानी गराएको र इन्जिनियर पाण्डव प्रसाद देवले गुणस्तरयुक्त भएको भनी अन्तिम बील र कार्य सम्पन्न प्रतिवेदन तयार गरी ९६ लाख ६४ हजार २ सय ९६ रुपैयाँ भुक्तानीको लागि सिफारिस गरेको पुष्टि भएको थियो ।

कम गुणस्तरको ग्यावियन तारलाई गुणस्तरयुक्त भनी बीलमा दस्तखत गरी भुक्तानी लिने जे.भी पार्टनर थोदुङ्ग कन्सट्रक्सन प्रा.लि. का डाइरेक्टर ङबाङ क्षोदेन शेर्पा (एन.सी.शेर्पा), बैकुण्ठ प्रसाद भण्डारी र शिवजी सापकोटालाई समेत पाँच जनालाई कानुन बमोजिम बिगो असुल गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्