Logo

सबै ठेक्काको काम सुचारु



काठमाडौं, पुस २ । करिब नौ महिनापछि निर्माण व्यवसाय सुचारु भएको छ । कोरोना महामारी नियन्त्रण गर्न गत चैत ११ देखि बन्दाबन्दी भएपछि निर्माण व्यवसाय ठप्प थियो । साउनदेखि बन्दाबन्दी खुला भए पनि निर्माण व्यवसाय सुचारु हुन सकेको थिएन । वर्षा र चाडपर्व सकिएपछि मङ्सिर अन्तिममा व्यवसायी आआफ्नो निर्माण क्षेत्र (साइट)मा फर्किएका छन् ।

निर्माण कार्यको सिजन सुरु भएकाले व्यवसायीले काम सुरु गरेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । लामो समय बन्द भएकाले काम सुचारु गर्न आर्थिक हिसाबले पनि गाह्रो परेको महासङ्घले जनाएको छ । महासङ्घका महासचिव रोशन दाहालले भन्नुभयो, “निर्माणको काम सुचारु भएको छ । सबै निर्माण व्यवसायी काममा फर्किएका छन्, निर्माणसम्बन्धी सबै ठेक्काको काम सुरु भएको छ । ”

निर्माण साइटमा कामदार खटिइसकेको दाहालले बताए । गिट्टी, बालुवा पनि सहज हुन लागेको महासङ्घले जनाएको छ । क्रसर उद्योग चलाउने तयारी भएकाले गिट्टी बालुवाको आपूर्ति सहज हुने उनको भनाइ छ ।तर महासङ्घले उठाउँदै आएका माग भने सम्बोधन भइसकेका छैनन् । आयोजनाको म्याद थप, धरौटी रकम बैङ्क ग्यारेन्टी राखेर चलाउन पाउनुपर्ने र निर्माणस्थलमा स्वास्थ्य प्रोटोकलको मापदण्डको टुङ्गो लागिनसकेकाले व्यवसायीमा अन्योलता भने कायम रहेको महासचिव दाहालको भनाइ छ ।

विगत नौ महिनादेखि निर्माण आयोजनाका काम ठप्प भएकाले यसबीचमा सम्झौता सकिएका आयोजना पनि छन् । करिब छ हजार आयोजना अर्थात् ८० प्रतिशत आयोजनाको म्याद थप गर्नुपर्ने बाध्यता छ । सरकारले बन्दाबन्दीको अवधिमा म्याद सकिएका र बन्दाबन्दीमा सम्झौता भएका आयोजनाको म्याद छ महिना थपको थियो तर त्यसअघिका आयोजनाको म्याद सकिएको र केही सकिने अवस्थामा रहेकाले सबै आयोजनाको एक वर्ष म्याद थप्नुको विकल्प नभएको महासङ्घले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्