Logo

चार महिनामा दुई खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन



काठमाडौं, पुस २ । बाह्य तथा केही आन्तरिक सूचक सुदृढ हुँदा अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को कात्तिकसम्मको मुलुकको वर्तमान आर्थिक परिदृश्यसम्बन्धी प्रतिवेदनअनुसार चौमासिक अवधिमा व्यापार सन्तुलन, चालू खाता तथा भुक्तानी सन्तुलन र विदेशी विनिमय सञ्चितिमा क्रमिक सुधार हुँदा बाह्य क्षेत्र सुदृढ भएको उल्लेख छ । यसबाहेक आन्तरिक खर्च बढेको र वित्तीय पहुँचमा विस्तार भएको पनि अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लक्ष्यको चार महिनासम्म कुल दुई खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसमध्ये शीर्षकगत रूपमा आयकर २.७ प्रतिशतले बढेको छ भने भन्सार राजस्व २.२ प्रतिशतले बढेको छ । यसबाहेक अन्य कर शीर्षकमा राजस्वमा भने सङ्कुचन आएको छ । गैरराजस्व पनि उल्लेख्य रूपमा घटेको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयले आन्तरिक राजस्व परिचालनमा पनि सुधार हुँदै गएको जनाएको छ । महामारीको समयमा अत्यावश्यक उपभोगबाहेक अन्य उपभोग कम रहेको र यसै समयमा लगानीकर्तासमेत लगानी गर्न हिच्किचाएका कारण उपभोग र लगानी दुवैमा कमी आउँदा त्यसको प्रभाव राजस्व परिचालनमा देखिएको मन्त्रालयले जनाएको छ ।

वैदेशिक सहायता प्रतिबद्धता बढेर ९० अर्ब ५५ करोड पुगेको छ । यसमध्ये अनुदान सहायता १२ अर्ब ८३ करोड र ऋण सहायता ७७ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । नेप्से सूचकाङ्कमा देखिएको निरन्तर सुधारले पुँजी बजार थप सबल भएको पनि प्रतिवेदनमा उल्लेख छ ।अर्थतन्त्रमा सकारात्मक अवस्था बन्दाबन्दै केही चुनौती अर्थ मन्त्रालयले देखाएको छ । खासगरी कोभिड–१९ सङ्क्रमणका कारण आयात सङ्कुचन हुँदा आर्थिक क्रियाकलाप विस्तारमा चुनौती थपिएको मन्त्रालयले जनाएको छ । यद्यपि निर्यात भने यो अवधिमा १२.५ प्रतिशतले बढेर सुधार भएको छ ।

मन्त्रालयका अनुसार सङ्घीय खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१ प्रतिशतले बढेर दुई खर्ब ६९ अर्ब सात करोड पुगेको छ । यद्यपि पहिलो चौमासिकमा पुँजीगत खर्चको अवस्था भने त्यति सुधार भएको देखिँदैन । समीक्षा अवधिसम्म ८.३४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । चालू खर्च २४.२५ प्रतिशत हुँदा वित्तीय व्यवस्थातर्फ ५.५० प्रतिशत मात्र खर्च भएको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्