Logo

राजनीतिक द्वन्द्वको घानमा संसद्



काठमाडौं, पुस २ । अधिवेशन बोलाउनुपर्ने बेलामा यति बेला संसद् सुनसान छ । सभामुख अग्निप्रसाद सापकोटा संसद् सचिवालय सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमा बिरलै जाने गरेका छन् । यता सांसदहरू विशेष अधिवेशनको माग गर्दै सोमबार शीतल निवास पुगे । कांग्रेस र जनता समाजवादी पार्टीले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका छन् ।

विगतदेखि नै कुनै राजीतिक दल संसद्प्रति जवाफदेही देखिएनन्, बरु संसद् दलीय अन्तरद्वन्द्वको घानमा पर्दै आएको छ । यसपटक पनि नेकपाभित्रको अन्तरद्वन्द्वका कारण संसद्को अधिवेशन आह्वान हुन सकेको छैन । कोरोना महामारीलाई लक्षित गर्दै सांसदको सिट व्यवस्थापनको तयारी पूरा गरेको भने महिना दिन पुगिसकेको छ । ‘संसद् अधिवेशन बोलाउने विषयमा सरकार तयार नभएपछि सभामुख पनि सचिवालयमा कमैमात्र आउनुभएको छ’, संसद् सचिवालय स्रोतले भन्यो ।

प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी गरेपछि विवाद भई संसद् विघटनसम्म हुनसक्ने आँकलन गरिएको थियो । प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको सहमतिबमोजिम अहिलेलाई त्यो अवस्था टरेको अनुमान गरिएको छ । तर नेकपाका अन्य वरिष्ठ नेताले भने यसबारे कस्तो भूमिका खेल्ने हुन्, त्यसले पनि राजनीतिक तरंग ल्याउनेछ ।

पार्टीको दबाबमा प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने अवस्था आएमा संसद् विघटन गर्नेसम्मको कुरा चर्चामा आएको थियो । पार्टीभित्रको आन्तरिक राजनीति बिग्रंदै गएपछि प्रधानमन्त्री ओलीले एकपछि अर्को विरोधाभासपूर्ण काम गरेको भनी आलोचना सुरु भएको छ ।  नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्