Logo

हातहतियार सहित पक्राउ



खोटाङ, २ पुस । विभिन्न हातहतियार सहित एक युवक पक्राउ परेका छन् । साकेला गाउँपालिका–१ सेखुवाको खलेबारी जंगलबाट १ थान एकनाले भरुवा बन्दुक, पेस्तोलमा लाग्ने ७ राउण्ड गोली, लामो हतियारमा लाग्ने ६६ राउण्ड गोली, भरुवा बन्दुकमा लाग्ने केही छर्रा तथा बारुद सहित सोलुखुम्बु सोताङ घोदरेका २२ वर्षीय केबि तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेशीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त जंगल सर्च गर्ने क्रममा ३ जना ब्यक्तिहरु जंगलतर्फ भाग्दै गरेको अवस्थामा तामाङलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।

साथै उक्त टोलीले जंगल पुनः सर्च गर्ने क्रममा बेड समेतको २ वटा टेन्ट, बिभिन्न कम्पनीका १७ थान मोबाईल, ८ थान चार्जर, १७ थान सिमकार्ड, ११ थान सहयोग रसिद लगायतका बिभिन्न सरसामान फेला पारी बरामद गरेको बताएको छ ।
हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot