Logo

ओलीसँग अझै ‘अध्यादेशको अस्त्र’, प्रचण्डले के गर्लान् ?



काठमाडौं, २ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएका छैनन् । उनले अध्यादेश फिर्ता लिनुअघि आजै संवैधानिक परिषदको बैठक डाके । तर, पछि स्थगित गरे ।

नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दबाब बढाएपछि ओली परिषदको बैठकबाट निर्णय गर्नबाट पछि हटेका हुन् । आज तय भएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा दुवै उपस्थित हुन नसक्ने खबर पठाएका थिए । तथापि नयाँ अध्यादेश अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभाका अध्यक्षबाट गणपूरक संख्या पुग्ने र निर्णय पनि हुनसक्थ्यो ।

ओलीले क्याबिनेट डाकेर अध्यादेश फिर्ता लिने बताइएको छ । तर, अध्यादेश फिर्ता भएको जानकारी अझै प्राप्त भएको छैन । यसबाट ओलीसँग अझै अध्यादेशको अस्त्र छ । यही अस्त्रले ओलीले प्रचण्डलाई संसदको विशेष अधिवेशन मागको निवेदन देखि पार्टीमा छलफलका लागि बढेको राजनीतिक प्रतिवेदन समेत फिर्ता लिन वाध्य पारे ।

प्रचण्ड केही पछाडि हटेपनि ओली अझै विश्वस्त भएका छैनन् । उनी अझै अध्यादेशको अस्त्र तयार गरेर बसेका छन् । यसबाहेक अन्य अध्यादेश पनि ल्याउनसक्ने गरी तयारी अवस्थामा बालुवाटार छ ।

संविधान अनुसार संसदको अधिवेशन छ महिनाभित्र बस्नुपर्छ । पौषको तेस्रो हप्ता संसदको अधिवेशन डाकिसक्नुपर्छ । संसदको अधिवेशन डाकेमा अध्यादेश ल्याउन पाइनेछैन । त्यस्तो अवस्थामा पार्टीभित्र र बाहिरका विरोधी एकजुट भएमा ओलीमाथि चुनौती बढ्नसक्छ । ओली यसकारण पनि अध्यादेश हत्तपत्त फिर्ता नलिने र आवश्यक परे अबको केही दिन थप अध्यादेश ल्याउने गरी तयारी अवस्थामा बसेको बुझिएको छ ।

ओली अझै आक्रामक बनेपछि प्रचण्ड भने रक्षात्मक छन् । उनी २६ भदौको सहमतिमा फर्किएका छन् । हिजो भएको दुई बुँदे सहमतिको पालनाको आग्रह गर्दै आएका छन् । यसरी प्रचण्ड रक्षात्मक अवस्थामा छन् । उनी संसदको अधिवेशनको पर्खाइएमा छन् । अबको दुई हप्ता जति ओलीलाई कडा कदम चाल्नबाट रोकेर त्यसपछि आफै आक्रामक रुपमा प्रस्तुत हुने गरी तयारी अवस्थामा भएको बुझिएको छ । यसको चाल पाएर ओली अध्यादेशहरुको अस्त्रलाई तयारी अवस्थामा राखेर बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्