काठमाडौं, २ पौष । मन्त्रिपरिषदको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपति समक्ष सिफारिशको निर्णय गर्ने बताइएको थियो । तर, त्यसबारे निर्णय भए नभएकोबारे मन्त्रीहरु नै बेखबर छन् ।
विश्वस्त स्रोतका अनुसार अध्यादेशबारे कुनै निर्णय भएको छैन । यसबारे प्रधानमन्त्री ओली र मुख्यसचिव शंकर वैरागी दाहाललाई मात्र के भएको हो जानकारी रहेको बुझिएको छ ।
विगतमा जस्तै मन्त्रिपरिषद बैठक बस्ने र राष्ट्रपतिबाट जारी भएपछि अध्यादेशबारे निर्णय भएको हुनसक्ने पनि आँकलन गरिएको छ । यसबारे एक मन्त्रीसँग सोध्दा अध्यादेशबारे कुनै निर्णयबारे जानकारी नभएको बताए ।
नेकपाभित्र अध्यादेश फिर्ता लिन चर्को दबाब छ । हिजो प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष प्रचण्डसँग गरेको सहमतिमा अध्यादेश फिर्ता लिने उल्लेख थियो । तर, अध्यादेश अनुसार नै आज संवैधानिक परिषदसम्बन्धी बैठक डाकिएको थियो । पछि स्थगित गरिएको थियो ।-फाइल तस्बिरः प्रमको सचिवालय