काठमाडौं, मंसिर ३। नेपालले बंगलादेश सरकारसँग जीटुजी प्रक्रिया मार्फत ल्याउन लागेको ५० हजार मेट्रिकटन युरिया मल खरीदका लागि दुई देशबीच सम्झौता भएको छ । बिहीवार नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशको बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशनबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपालको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादर भण्डारी र बंगलादेशका तर्फबाट बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशनका अध्यक्ष मोहमद अमिउल अहसनले हस्ताक्षर गरेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार मेट्रिकटन दाना युरिया मल बल्क र कार्गो गरी दुई तरीकाले चार लटमा आयात गर्ने सम्झौतापत्रमा उल्लेख छ । बंगलादेशकै कर्नाफुली फर्टिलाइजर कम्पनी लिमिटेडले उत्पादन गरेको मल ल्याउने बताइएको छ । सम्झौता भएको तीन महिनाभित्र बंगलादेशले नेपालमा मल निर्यात गर्ने सहमति भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।