Logo

६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाह भत्ता



काभ्रे, पुस ३ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक रु १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन् ।

‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उहाँले ती काम छिट्टै कार्यान्वयनमा आउने बताए ।

उनले महासङ्घको पहलमा रु पाँच करोड ३४ लाखको ‘पत्रकार सम्मान वृद्धि कोष’ स्थापना गरेर ३० वर्ष निरन्तर पत्रकारिता गरेर ६५ वर्ष पुगेकालाई पेन्सन दिने व्यवस्था गरेको उल्लेख गर्दै त्यससँगै द्वन्द्व पीडित र अपाङ्गता भएकालाई मासिक रु १० हजारका दरले जीवन निर्वाह भत्ता दिने निर्णय भएअनुरुप त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताए ।

आपत्कालीन अवस्थामा सहयोग गर्न रु एक करोडको कोष स्थापना गरेकामा त्यसका लागि अहिले रु ६० लाख जम्मा भइसकेको र बाँकी रु ४० लाख महाधिवेशनसम्म पुग्दा जम्मा गरिसक्ने उनले बताए। पत्रकारिता पेशा गरेर अरु वैकल्पिक पेशा नभएका पत्रकारका लागि सहयोग गर्न केन्द्रले सबै जिल्लाबाट सिफारिसका लागि आग्रह गरेकामा अहिलेसम्ममा ६०० पत्रकारलाई सहयोग गरिसकेको उनको भनाई छ ।

कार्यक्रममा उनले समानुपातिक विज्ञापन ऐन लागू गर्न भनेर उठाएको मुद्दा अब छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे। रासस



प्रतिक्रिया दिनुहोस्