Logo

देव गुरुङले ‘जेल जाने अवस्था आउने’ भनेकै भोलिपल्ट सभामुख सापकोटाविरुद्धको मुद्दाको पेशी



काठमाडौं, ३ पौष । नेपाल कम्युनिस्ट पार्टी प्रमुख सचेतक देव गुरुङले बिहिबार बुटबलमा बोल्दै जेल जानुपर्ने अवस्था आउने बताए । उनको यो अभिव्यक्ति निकै अर्थपूर्ण थियो । नेकपाभित्र विवाद बढिरहँदा कार्यकारी अध्यक्ष प्रचण्ड पक्षीय ंदेव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्न सक्ने कठोर कदमहरुप्रति संकेत गरेका थिए ।

गुरुङले जेल जानुपर्ने अवस्था आउनसक्ने भनेकै भोलिपल्ट सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेशी तोकिएको छ । पूर्व कानुनमन्त्री समेत रहेका गुरुङले कुनै ग्रान्डडिजाइनको सूचना पाएरै यस्तो अभिव्यक्ति दिएको चर्चा नेकपाभित्र र बाहिर चल्न थालेको छ ।

सभामुख सापकोटाविरुद्धको मुद्दाको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा छ । संवैधानिक इजलाशले मुद्दाको आजै किनारा लगाउने नलगाउने निश्चित भने छैन । मुद्दाको पक्षमा फैसला भए सभामुख सापकोटाको स्वतः पद जाने मात्र नभई जेल जानुपर्ने अवस्था आउनसक्छ ।

माओवादी सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोप सभामुख अग्निप्रसाद सापकोटामाथि छ । यो घटनाको मुद्दा सापकोटा सभामुख भएपछि दायर भएको थियो । यो मुद्दामा प्रधानन्यायाधीश राणाको नेतृत्वमा संवैधानिक इजलाश गठन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्