काठमाडौं, ३ पुष । प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दल केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । आज (शुक्रबार) नयाँ बानेश्वरस्थित संघीय संसद्को भवनको ल्होत्से हलमा बसेको बैठकमा संसदीय दलका नेता शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभएसम्म आफू संवैधानिक परिषदको बैठमा सहभागी नहुने जनाएका थिए । बैठकमा देउवाले भने,‘अध्यादेश फिर्ता नलिएसम्म म संवैधानिक परिषदको बैठकमा जान्नँ ।”
बैठकले सरकारले ल्याएको अध्यादेश असंवैधानिक भएकोले उक्त अध्यादेश तुरुन्तै फिर्ता लिनुपर्ने निश्कर्ष निकालेको छ । बैठकले संसदको विशेष अधिवेशन तत्काल बोलाउनुपर्ने, भ्रष्टाचार, बेथिति र अराजकता बढेको तर सरकारले यसलाई रोक्न नसकेको पनि निश्कर्ष निकालेको सांसद डा. डिला संग्रौलाले जानकारी दिईन् ।
बैठकले वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको पनि निश्कर्ष निकालेको थियो । त्यस्तै, उखु किसानको भुक्तानी तुरुन्त गर्नुपर्ने, किसानले मल नपाएकोले तुरन्तै मलको व्यवस्था गर्नुपर्ने, विप्लव समूहद्धारा शिक्षकको हत्याको निन्दा गर्दै दोषीलाई कारबाही गर्नुपर्ने पनि माग गरेको छ । राजेन्द्र श्रेष्ठको हत्या । आजको बैठकमा पूर्ण बहादुर खड्का, राधेश्याम अधिकारी लगायत बोलेका थिए ।
सांसद अधिकारीले वर्तमान सरकारलाई कानून बनाउने अधिकार नभएको जिकिर गरे । उनले भनेका थिए,‘यसरी अध्यादेश ल्याउनु भनेको यो लोकतन्त्रमाथिको आक्रमण हो ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम