काठमाडौं, ३ पौष । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै संसदको सार्वजनिक लेखा समितिले कारबाहीका लागि प्रक्रिया बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र काट्ने निर्णय गरेको छ । आज बसेको लेखा समितिको बैठकले कोरोना भाइरसको रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको ठहर गर्दै यस्तो निर्णय गरेको हो ।
लेख समितिका सचिव रोजनाथ पाण्डेले स्वास्थ्य सामाग्री खरिद प्रक्रिया नियमसंगत नभएको भन्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आायोगलाई पत्र पठाउने निर्णय भएको जानकारी दिए । उनले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामाथि प्रश्न उठाउँदै संलग्न पदाधिकारीमाथि छानविनका लागि पत्र पठाइएको बताए ।
सरकारले कोरोना भाइरसको रोकथामका लागि १२ चैत्र २०७६ मा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो । उक्त सम्झौता विवादमा परेको थियो । बजार मूल्यभन्दा महङ्गो मूल्यमा खरिद सम्झौता भएको भन्दै भ्रष्टाचारको आशंका भएका थिए ।