Logo

वास प्लान बनाउन खानेपानी र स्थानीय पूर्वाधार विभागबीच सम्झौता



काठमाडौँ, ३ पुस: खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय पूर्वाधार विभागबीच कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिकामा खानेपानी तथा सरसफाई सम्बन्धी तथ्याङ्क सङ्कलन गरी सरसफाई गुरुयोजना (वास प्लान) बनाउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

खानेपानी विभाग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको निकाय स्थानीय पूर्वाधार विभागबीच दुवै प्रदेशका गरी २७ गाउँपालिकामा खानेपानी तथा सरसफाईको दिगो व्यवस्थापन गर्ने उद्देश्यले तथ्याङ्क सङ्कलन गरी अघि बढ्ने गरी आज समझदारी भएको छ ।

स्थानीय पूर्वाधार विभागले सञ्चालन गरिरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाअन्तर्गत दुवै प्रदेशका १० जिल्ला अछाम, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, दैलेख, दार्चुला, डोटी, हुम्ला र कैलालीका २७ गाउँपालिकाको खानेपानी तथा सरसफाईसम्बन्धी तथ्याङ्क सङ्कलन गरिनेछ ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेको उपस्थितिमा खानेपानी विभागका महानिर्देशक मीना श्रेष्ठ र स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वर मरहट्टाले समझदारी पत्रमा हस्ताक्षर गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।

स्थानीय पूर्वाधार विभागअन्तर्गत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा सञ्चालित स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्नका लागि यस किसिमको समझदारी भएको विभागका महानिर्देशक मरहट्टाले बताउनुभयो ।

उनले एनवास एपमार्फत सबै स्थानीय तहको तथ्याङ्क सङ्कलन गरी योजना बनाउने उद्देश्यले अघि सारिएको यस किसिमको कार्यक्रम ज्यादै महत्वपूर्ण हुने जनाए । उनले एनवास एपका बारेमा जानकारी दिन सबै प्रदेश र स्थानीय तहमा तालिमको व्यवस्था गर्न सके अझ राम्रो हुने सुझाव दिए ।

कार्यक्रममा खानेपानी विभागका महानिर्देशक श्रेष्ठले ७५३ वटै स्थानीय तहको वास प्लान बनाउने उद्देश्यले यस किसिमको कार्यक्रम अघि बढाइएको जानकारी दिए । उनले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाईको अवस्था के कस्तो छ भनेर एनवास एप्स बनाइएको र उक्त एप्समार्फत देश भरकै तथ्याङ्क थाहा हुने प्रष्ट पारे ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्