Logo

बामदेव अब कता ?



काठमाडौं, ३ पौष । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको भूमिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता संकटबाट जोगायो । पहिलोपटक सत्ता संकट आउँदा गौतमले ओलीविरुद्ध केन्द्रित भएका प्रचण्ड र माधवकुमार नेपाललगायतको मोर्चाबाट अलग भइदिए । दोस्रो पटक पनि मोर्चा छाडेर कुनैपनि गुटमा रहेको घोषणा गरेर छ बुँदे सहमतिको प्रस्ताव ल्याए ।

गौतमले दुवैपटक सत्ता संकट टार्न सहयोगी भूमिका निभाउँदा आश्वासन पाए । पहिलोपटक सचिवालय बैठकमा उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडि सारियो । संविधान संशोधन गरेर वा कुनै चुनावी क्षेत्र खाली गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाएर ल्याउने सम्मको प्रस्ताव ओलीले राखे । ती दुवै आश्वासन मात्र भए ।

दोस्रो पटक पनि बामदेवको घरमै पुगेर ओलीले राजनीतिक लेनदेनको कुरा गरेको खुल्यो । त्यसअघि गौतमले छ बुँदे प्रस्ताव ल्याएर प्रचण्ड र माधव नेपालको मोर्चालाई कमजोर पारिदिए । त्यतिबेला उनलाई राष्ट्रियसभाको अध्यक्ष बनाएर मन्त्री बनाउने प्रस्ताव गएको थियो । तर, निकै कठिनाईपूर्वक गौतम राष्ट्रियसभा सदस्य बने । उनको मन्त्री बन्ने ढोका खुलाइएन । ओलीले नै बन्द गरे । गौतम असन्तुष्ट हुँदै प्रचण्ड र माधव नेपाल समूहमा पुगे ।

गौतम उक्त समूहमा पुग्दा पल्लाभारी भयो । ओली अप्ठ्यारोमा परे । गौतमलाई मनाउन ओलीले पटक पटक प्रयास गरे । तर, सफल भएनन् ।

यसपटक गौतम फेरि ओलीसँग नजिकिएको चर्चा चलेको छ । उनी प्रचण्ड र माधव नेपाल गुटको भेलामा सहभागी भएका छैनन् । खुमलटारमा पाँच नेताको भेलामा बाहेक अन्य तहका नेता कार्यकर्तासँग गुट भेलामा सहभागी हुन मानेनन् । आज प्रचण्ड र नेपाल गुटको भेलामा पनि गौतम पुगेनन् । उनका पक्षधर पनि पुगेनन् ।

कतै गौतम फेरि ओलीसँग नजिकिएका त होइनन् ? यो आशंकाहरु बढ्न थालेको छ । उनलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्री बनाउने प्रस्ताव ओलीले दिदै आएका छन् । प्रचण्ड र माधव नेपालसहितको मोर्चाले ओलीको सत्ता डगमगाउन नसकेको अवस्थामा गौतम फेरि सम्झौता गरेर बढ्न खोजेका त होइनन् ? उनलाई भावी प्रधानमन्त्री र पार्टी अध्यक्षको प्रस्ताव समेत ओलीले गर्दै आएका छन् । यसले पनि गौतम ओलीसँग नजिकिने सम्भावना देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्