Logo

हस्तकला ग्राम स्थापना गर्न माग



काठमाडौ, पुस ४ । सरकारले स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरिरहेको छ तर हस्तकला व्यवसायलाई भने उपेक्षा गरेको व्यवसायीको गुनासो छ । वर्षौंदेखि हस्तकला ग्राम स्थापनाका लागि आफूहरूले पहल गरे पनि सरकारले चासो नदिएको नेपाल हस्तकला महासङ्घले जनाएको छ ।

नेपाल हस्तकला महासङ्घले हस्तकलाको प्रवद्र्धन, विकास र विस्तारका लागि स्थानीय तहहरूमा हस्तकला ग्रामको स्थापना गर्न माग गरेको हो । सरकारले हस्तकलाका सामग्री उत्पादन गर्ने घरेलु तथा साना उद्योगलाई उपेक्षा गरेको भन्दै हस्तकला ग्रामको स्थापनामा व्यवसायीले जोड दिँदै आएको गुनासो महासङ्घको छ ।
महासङ्घका उपाध्यक्ष रवीन्द्र शाक्यका अनुसार, “देशभर औद्योगिक ग्राम स्थापना गर्नसक्ने सरकारले हस्तकला ग्राम बनाउन नसक्ने कुरै हुँदैन । घरेलु र सानो क्षेत्र भएकाले होला सरकारले उपेक्षा गरेजस्तो छ तर नेपाल चिनाउने भनेको हस्तकलाले हो र चिनाउँदै पनि आएको छ । सरकारले हस्तकला ग्राम बनाउनुपर्छ । ”

औद्योगिक ग्राम निर्माण गर्दै गर्दा हस्तकलाको सम्भावना भएका स्थानीय तह र जिल्लामा औद्योगिक ग्रामको सट्टा हस्तकला ग्राम बनाउनुपर्ने उपाध्यक्ष शाक्यको भनाइ छ । सबै स्थानीय तहमा हस्तकलाको सम्भावना नरहेको तर कच्चा पदार्थ पाइने र सम्भावना रहेका स्थानीय तहमा हस्तकला ग्राम बनाउन सकिने महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार कुनकुन स्थानीय तहमा हस्तकला ग्राम बनाउन सकिन्छ भन्ने अध्ययन त भएको छैन तर मोटामोटी हेर्दा काठमाडौँको गोदावरी, लामाटार, भक्तपुर, ललितपुर जिल्लामा बढी सम्भावना रहेको छ ।

स्थानीय स्रोत साधन र कच्चा पदार्थको उपलब्धतालाई ध्यानमा राख्नुपर्ने शाक्यको भनाइ छ ।
कास्की, स्याङ्जा, नवलपरासी, दाङ, रामेछाप, पाल्पा, तनहुँ, झापा, धनकुटालगायतका जिल्लामा हस्तकला ग्रामको सम्भावना रहेको महासङ्घले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्