जनकपुरधाम, पुस ४ । जगद्जननी जानकीको जन्मभूमि जनकपुर मिथिलाको प्राचीन राजधानीका रूपमा विश्वविख्यात छ । राजर्षि जनकले यसलाई आफ्नो राजधानी बनाएका थिए । यहाँ नै जगद्जननी जानकी र साकेत नगरीका राजकुमार रामचन्द्रको शुभविवाह सम्पन्न भएको थियो ।
तर, दुःखको कुरो के छ भने आज जनकपुर उपेक्षित भएको छ किनभने सीताको जन्म वैशाख शुक्ल नवमीको पावन अवसरमा भए पनि जानकी नवमी धेरै उत्साह र उमङ्गसाथ मनाइँदैन ।
जानकीको जन्मका बारेमा देश–विदेशमा अनेक किंवदन्ती प्रचलित छन् । तर, आज यो सर्वसम्मत भइसक्यो कि उनको जन्म जनकपुरमा नै भएको थियो । वेद, पुराण र उपनिषद्अनुसार पनि जानकीको जन्म जनकपुरमा भएको कुरो प्रमाणित भइसकेको छ ।
विष्णु पुराणका अनुसार राजर्षि जनकले आफ्नो राजधानी जनकपुरको सीमाभन्दा तीन योजन टाढा एउटा निश्चित स्थानमा यज्ञादि गरेर हलो चलाएकोे र त्यसक्रममा जानकीको जन्म हुन गएको हो । उनको जन्म हुनासाथ सम्पूर्ण मिथिलाञ्चल धनधान्यले परिपूर्ण भएको तथ्य प्रमाणित भइसकेको छ ।
उनको जन्म हुुनुभन्दा पहिला मिथिलाञ्चलमा ठूलो अनिकाल परेको थियो । जनता त्राहिमाम गरिरहेका थिए । अनिकालको अभिशापबाट सम्पूर्ण मिथिलाञ्चल ग्रस्त थियो ।
उनको जन्मले अनिकालबाट त्राण पाइयो । सम्पूर्ण मिथिलाञ्चलमा खुसीको खबर फैलियो र राजर्षि जनकसहित सम्पूर्ण राजपरिवार हर्षित भएका थिए । अनिकाल सहकालमा परिवर्तित भएको थियो । भूमिको गर्भबाट जन्म भएकाले उनको एउटा नाम अयोनिजा पनि रहेछ ।
हुन त जानकीका अनेक नाम छन् । जस्तो विदेही, जगद्जननी, जगदम्बा आदि । महाकवि तुलसीदासका अनुसार जगद्जननी जानकी यस सृष्टिलाई उत्पन्न गर्ने, पालन गर्ने र संहार गर्नेमात्र होइन, अपितु सबै किसिमको कल्याण गर्ने अपार शक्ति हुन् ।
अर्को मिथक के छ भने मिथिलाञ्चलमा राक्षसहरूले ऋषिहरूको हत्या गरेर उनीहरूको रगत एउटा घैँटोमा जम्मा गरेर जमिनमुनि गाडेका थिए । राजर्षि जनक जब हलो जोत्न लागेका थिए, हलोको आघातले त्यो घैँटो फुट्यो र त्यसबाट एउटी भव्य, दिव्य र अनुपम बालिकाको जन्म भयो । उनको जन्मले त्यस क्षेत्रमा खुसीको वातावरण छायो ।
पद्म पुराणमा सीताको पितालाई ‘शिरध्वज’ भनिएको छ । ‘उत्तररामचरित्र’ मा महाकवि भवभूतिले ‘शिरध्वज’ शब्दको प्रयोग जनकको पर्यायवाची शब्दका रूपमा गरेका छन् । यसबाट के प्रस्टिन्छ भने त्यसबखतसम्ममा सीता जनकपुत्रीका रूपमा विख्यात भइसकेकी थिइन् ।
महाकवि कालीदासले आफ्नो ‘रघुवंश’ महाकाव्यमा पनि सीतालाई दैवी रूपमा प्रतिष्ठापित गरेका छन् । ‘अध्यात्म रामायणमा सीतालाई मूलप्रकृतिको संज्ञाबाट विभूषित गरिएको छ । ‘स्कन्द पुराण’ मा ब्रह्मविद्याको साक्षात अवतार सीतालाई भनिएको छ ।
संस्कृत काव्यमा सीताको चरित्रका अनेक विशेषता उल्लेख भएको पाइन्छ । महाकवि कालीदासले आफ्नो महाकाव्य ‘रघुवंश’मा सीतालाई रामचन्द्रकी आदर्श पत्नीका रूपमा रुपायित गरेका छन् । कालीदासले उनलाई अयोनिजा त भनेकै छन् ।
आठौँ शताब्दीमा रचित ‘कुमार दास’ र ‘जानकी हरण’ काव्यमा सर्वप्रथम उनको जीवनको कारुणिक पक्षको उद्घाटन गरिएको पाइन्छ । अभिनव गु्प्तकृत ‘रामचरित’ दोमेन्द्रकृत ‘रामायण मञ्जरी’ आदि काव्यहरूमा सीताको चरित्रलाई पौराणिक परम्पराअनुसार नै अभिव्यक्त गरिएको पाइन्छ ।
सत्रौँ शताब्दीमा रचित ‘जानकी परिणय’मा उनलाई अत्यन्त रूपवती महालक्ष्मी स्वरूपमा चित्रित गरिएको छ । भासकृत ‘प्रतिमा’ ‘अभिषेक’ नाटकहरूमा सीतालाई साक्षात लक्ष्मीका रूपमा चित्रित गरिएको छ ।
अग्निपरीक्षाको समयमा स्वयम् अग्निदेवता प्रकट भएर सीतालाई ‘इमां भगवती लक्ष्मी’ भनेर सम्बोधन गरेका थिए । सीताको कारुणिक जीवनको सबैभन्दा प्रभावशाली चित्र भवभूतिले ‘उत्तर रामचरित’मा बनाएका छन् । ‘हनुमन्नाटक’मा सीता स्वयम्वर ‘रामसीता विवाह’ र ‘सीताहरण’ मा सीताको अप्रतिम र अलौकिक सौन्दर्यको वर्णन पाइन्छ ।
महाकवि तुलसीदासले आफ्नो ‘रामचरित मानस’ महाकाव्यमा सीतालाई आदर्श पत्नीका रूपमा चित्रित गरेका छन् । तुलसीदास त सीताको रूप वर्णन गर्दै उनलाई माता, अम्बा र जगद्जननीका रूपमा वर्णन गरेका छन् ।
नारददेखि आदिकवि वाल्मीकि, व्यास, पराशर, भवभूति, कालीदास, भट्टकवि आदि अनेक कविले सीताको कथालाई लिपिबद्ध गरेका छन् । जैन साहित्य र बौद्ध साहित्यमा पनि सीताको आविर्भावको कथा लेखिएको पाइन्छ । प्राकृत भाषाको महाकाव्य ‘पउमचरिअ’मा पनि सीताको कथा लेखिएको पाइन्छ । गोरखापत्र दैनिकबाट