तनहुँ, ४ पुस: व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको शहीद नेपाली छात्रवासमा पर्याप्त मात्रामा भवन नहुँदा टुहुरा विद्यार्थी मर्कामा पर्ने गरेका छन् ।
उक्त क्याम्पस शहरिया र धनाढ्यका छोराछोरीको तुलनामा अधिकांश ग्रामीण क्षेत्रका, मजदुर, किसान र रिक्सा चालकलगायतका छोराछोरीको पहिलो रोजाइँ बन्दै गए पनि भवन अभावमा बाबु–आमा गुमाएका टुहुरा विद्यार्थी मर्कामा पर्ने गरेका हुन् । उक्त क्याम्पस परिसरमा शहीद चन्द्र नेपालीको सम्झनामा छात्रवास निर्माण गरिए पनि अर्थाभावका कारण थप भवन निर्माण गर्न नसकिएकाले लक्षित वर्गका विद्यार्थी शिक्षाबाट बञ्चित हुनुपरेको क्याम्पस प्रशासनले जनाएको छ ।
झण्डै ४०० भन्दा बढी टुहुरा विद्यार्थी छात्रवासमा बसेर पढ्न पाउने अधिकारबाट बञ्चित हुनुपरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । करिब रु ३५ लाखको लागतमा निर्माण गरिएको छात्रवासमा अहिले ३० विद्यार्थीले बसेर शिक्षा लिँदै आएका छन् । वर्षेनी एकतला थप गर्दै लैजान सकिए वर्षेनी ३० विद्यार्थीलाई छात्रवासमा राख्न सकिने अवस्था थियो । उनले भने, “आर्थिक स्रोत जुटाएर भवन निर्माण गर्न नसक्दा दयनीय अवस्थाका विद्यार्थी शिक्षा लिनबाट बञ्चित हुनुपरेको छ ।”
टुहुरा, आर्थिक क्षेत्रबाट पिछडिएका, दलित, जनजाति र दुर्गम बस्तीका विद्यार्थीलाई सहजरूपमा शिक्षा हासिल गर्नका लागि भौतिक संरचना निर्माण गर्नुपर्ने टड्कारो समस्याको रुपमा देखापरेको छ । करिब दुई रोपनी जग्गा निर्मल माध्यमिक विद्यालयले उपलब्ध गराएपछि व्यास नगरपालिकाको रु सात लाख, क्याम्पसको रु पाँच लाख, तत्कालीन जिल्ला विकास समिति र नेपाल सरकारको सहयोगमा गरी छात्रवास निर्माण गरिएको थियो ।
क्याम्पस प्रशासनले बाबुआमा नभएका, दलित, जनजाति, तनहुँ, गोरखा र लमजुङ जिल्लाका दुर्गम क्षेत्रका विद्यार्थीलाई प्राथामिकता दिएर छात्रवासको सुविधा उपलब्ध गराउँदै आएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिए । छात्रवासमा रहेर अध्ययन गर्ने विद्यार्थीलाई मासिक रु एक हजारमा खानाको व्यवस्था गरे पनि कुनै–कुनै महिना नपुगे छात्रवासमा रहेकाले दामासाहीले रकम उठाएर हिसाब मिलान गर्ने गरेको बताइएको छ । छात्रवासमा रहेका टुहुरा विद्यार्थीका लागि लत्ताकपडा भने विभिन्न सङ्घसंस्थासँग सहयोग मागेर प्रदान गर्ने गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।-रासस/File photo