Logo

सिक्टाबाट पहिलोपटक हिउँदे सिँचाइ



नेपालगञ्ज, पुस ५ गते । सिक्टा सिँचाइ आयोजनाले पहिलोपटक हिउँदयाममा नहर सञ्चालन गरेपछि गहुँ, तोरी लगायतका खेती गर्ने बाँकेका किसान उत्साहित भएका छन् ।
आयोजनाले पश्चिमी मूल नहरमा पाँच क्युसेक पानी चलाएपछि बाँकेको डुडुवा, कोहलपुर, नेपालगञ्ज, खजुरा र बैजनाथ क्षेत्रका किसानले करिब २० हजार हेक्टरको गहुँ र तोरी खेतीमा सिँचाइ भएको कृषि ज्ञान केन्द्र, नेपालगञ्जले जनाएको छ । विगतमा सिँचाइ अभावले ती क्षेत्रमा निकै कम जग्गामा मात्रै खेती हुने गरेको तर यस वर्ष हिउँदमा पानी उपलब्ध भएपछि धेरै क्षेत्रफलमा खेती भएको र उत्पादन पनि बढ्ने केन्द्र प्रमुख सागर ढकालले बताए ।

सिक्टाकै कारण यस वर्ष बाँकेमा धान उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको जानकारी दिँदै उनले हिउँदे खेती गर्ने किसानको सङ्ख्या पनि २५ प्रतिशत बढेको बताए । विगतमा धान उठाएपछि बाँझै रहने खेतमा यस वर्ष सिँचाइ सुविधा उपलब्ध भएपछि गहुँ र तोरी खेती गरेको राँझाका किसान नरेन्द्र बर्माको भनाई छ । बैजनाथ गाउँपालिका वडा नं ४ का किसान जीवन थारूले सिँचाइ सुविधा भएपछि धान उत्पादन राम्रो भएको बताउँदै अब गहुँ र तोरी खेती पनि राम्रो हुने आशा व्यक्त गरे ।

सिक्टाको मूल नहरको निर्माणकार्य सम्पन्न भएपछि किसानले नहरबाट पम्पसेटबाट पानी तानेर खेतबारीमा सिँचाइ गरिरहेकाले सबै खेती राम्रो हुँदै गएको सिक्टा सिँचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाले बताए । उनका अनुसार मूल नहरबाट किसानको खेतसम्म पानी पु¥याउन सातवटा शाखा र ५० वटा उपशाखा गरेर करिब सय किलोमिटर नहर निर्माण भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्