Logo

असारबाट ३० मेगावाट बिजुली भारत निर्यात गरिने



काठमाडौं, पुस ५ । सरकारले आगामी असारदेखि नेपालमा उत्पादित ३० मेगावाट बिजुली भारतमा निर्यात गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी असारदेखि नेपालमा उत्पादन भएको ३० मेगावाट बिजुली भारतमा निर्यात गर्ने तयारीमा जुटेको बताएका छन्।

‘असारदेखि कात्तिकसम्म उत्पादित बिजुली निर्यात गर्न लागिएको हो,’ मन्त्री पुनले भने। बर्खाको समयमा नेपालमा उत्पादित बिजुली धेरै हुने भएकाले भारतीय बजारको खोजी गरिएको मन्त्री पुनले बताए। नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले बर्खाका बेला पूर्ण क्षमतामा बिजुली उत्पादन हुने गर्छ।

मन्त्री पुनले भारतीय पिटिसिएन कम्पनीमार्फत बिजुलीमार्फत निर्यात गर्न लागेको बताए। ‘आगामी असारदेखि २४सै घन्टा चार महिना बिजुली निर्यात गर्नेछौं,’ उनले भने, ‘नेपालमा उत्पादन भएको बिजुली भारतको पञ्जाब क्षेत्रमा निर्यात गरिनेछ।’ भारतीय पक्ष बिजुली खरिद गर्न इच्छुक देखिए पनि मूल्य भने अहिलेसम्म टुंगो नलगाएको उनले बताए। ‘भारतीय पक्षले रेट पठाएपछि आवश्यक टुंगो लगाउनेछौं,’ उनले भने। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्