Logo

अर्थ मन्त्रालय पनि ब्रोकर कमिसन घटाउने पक्षमा



काठमाडौं, पुस ५ । लामो समयदेखि सेयर ब्रोकर कमिसन घटाउनुपर्ने लगानीकर्ताको मागमा अर्थ मन्त्रालयमा पनि सहमत भएको छ। कमिसन घटाउनुपर्ने लगानीकर्ताको आवाजलाई साथ दिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बद्ध निकायलाई कमिसन घटाउन निर्देशन दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित सम्बद्ध पक्षको बैठकमा पौडेलले कमिसन घटाउने निर्णय गरी कार्यान्वयनमा लैजान निर्देशन दिए।

उनले कमिसन घटाउने निर्णयमा विलम्ब नगर्न भनेका छन्। पौडेलले पुँजी बजार विस्तार भइरहेको उल्लेख गर्दै अहिलेका समस्या समाधान गर्न समयतालिका बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पुँजी बजारको विकासका लागि चालु वर्ष नै कमिसन घटाउने निर्णय गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिएका छन्। ऐन, नियममा सुधार गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि उनको जोड छ। बैठकमा मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुंगाना, रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा। प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य सहभागी थिए। त्यस्तै धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको बैठकमा सहभागिता थियो।

लगानीकर्ताले लामो समयदेखि कमिसन घटाउनुपर्ने माग दोहोर्‍याउँदै आएका छन्। केही समयअघि धितोपत्र बोर्डले गरेको एक अध्ययनले पनि ब्रोकर कमिसन घटाउनुपर्ने देखाएको थियो।

उक्त अध्ययनपछि बोर्डले कसिमन घटाउने तयारी थालिसकेको प्रवक्ता निरज गिरीले बताए। कमिसन कति घटाउने र कहिले अन्तिम निर्णय गर्ने भन्नेमा भने छलफल भइरहेको उनको भनाइ छ। ब्रोकर कमिसन घटाउनुका साथै लगानीकर्ताले मर्चेन्ट बैंकिङलाई सेयर कारोबार दिनुपर्ने माग उठाउँदै आएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्