Logo

नेपाली सडकमा भारतीय सवारीको रजाइँ, सरोकारी निकाय मौन



सर्लाही, ५ पुस । जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनको प्रयोग व्यापकरूपमा बढेको छ । भारतको विहार राज्यसँग सिमाना जोडिएका प्रदेश नं २ का अधिकांश जिल्लामा खुलेआम भारतीय सवारी साधनको प्रयोग बढेको छ ।

भारतीय सवारी साधनले भन्सारसमेत नबुझाई नेपाली सडकमा खुलेआम बर्चश्व जमाइरहेको पाइएको छ । भारतीय सवारी साधन सडकमा बर्चश्व जमाइरहेको भए पनि सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीय सर्वसाधारणको आरोप छ । जिल्ला भन्सार कार्यालय सिमानामै रहेको भएको भए पनि भन्सारका कर्मचारी असुलीमा व्यस्त रहेका कारण पनि भारतीय सवारी साधनको दादागिरी चलेको स्थानीय व्यापारी राजीव सिंहले बताए । सिमानामा २४सै घण्टा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि यस्ता सवारी साधनलाई ध्यान नदिँदा नेपाल प्रवेश गरेपछि भारतीय सवारी साधनको दादागिरी नेपाली बजारमा बढ्ने गरेको छ ।

बिना रोकटोक नेपाल प्रवेश गरेका भारतीय सवारीको प्रयोगले नेपाली भूमिमा आपराधिक गतिविधि हुनुका साथै तीव्रगतिमा सञ्चालन हुने यस्ता सवारी साधनका कारण दुर्घटनासमेत बढेको र बेथिति बढ्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक केदारमान दोङले बताए । भारतीय सवारी साधनको प्रयोग, आपराधिक गतिविधि र दुर्घटनाका साथै बेथितिको विषयमा जिल्लामा सुरक्षा संयन्त्रको छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

जिल्ला सुरक्षा संयन्त्रको छलफलबाट जिल्लामा सञ्चालन हुने भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन, भारतीय सवारी साधनको प्रयोगलाई नियमन गर्नेलगायतका काम हुने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । जिल्लामा शान्ति सुरक्षा, आपराधिक गतिविधि र दुर्घटनाका साथै बेथितिको अन्त्यका लागि अनधिकृत रूपमा सञ्चालित सवारीको नियमन गरिने प्रजिअ पौडेलले बताए।

सरकारको आर्थिक प्रतिवेदनमा भारतीय सवारी साधनलाई आवश्यक भन्सार तिरेपछि एक महिनाका लागि नेपालभर सञ्चालन गर्न पाउने व्यवस्था भए पनि प्रदेश नं २ का अधिकांश नागरिकको घरघरमै भारतीय नम्बरका सवारी साधन रहेको पाइएको छ । प्रदेश नं २ का अधिकांश नागरिकको छिमेकी देश भारतसँग कुनै न कुनै रूपमा सम्बन्ध रहेको र उतैबाट खरिद गरी नेपालमा ल्याएर निर्वाधरूपमा सञ्चालन गर्ने गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्