Logo

संसद विघटन प्रस्तावसँगै शेयर बजार राताम्य, अगुवा लगानीकर्ता भन्छन्, “नआत्तिनु हाेला”



काठमाडौँ ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने प्रस्ताव गरेका छन्। उनले आइतबार बिहानै मन्त्रीपरिषद्को आकस्मिक बैठक डाकेर संसद विघटनको प्रस्ताव गरेका हुन्।

संसद विघटनको प्रस्तावसंगै शेयर बजारमा पनि असर देखिएको छ। आइतबार बजार खुलेदेखि नै ठूलाे उतारचढाव आइरहेको छ। राजनैतिक अस्थिरता आउने डरले लगानीकर्ताको मनोबल खस्किदा नेप्से सूचक उच्च अंकले घटेको छ।

संसद विघटनले शेयर बजारमा पनि तत्कालका लागि नकारात्मक प्रभाव पारेको छ। तर, लगानीकर्ताकाे नेतृत्व गर्नेहरूले भने आत्तिहाल्नुपर्ने बेला नभएको बताएका छन्। संसद विघटन गरेर एउटा एउटा राजनैतिक निकास खोजिएको र यसले पूँजी बजारमा ठूलो असर नपार्ने उनीहरुको भनाइ छ।

तत्कालका लागि बजार नकारात्मक देखिएपनि यसले शेयर बजारमा ठूलो प्रभाव भने नपार्ने नेपाल इन्भेष्टर फेरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। “आवेशको रुपमा तत्कालीन असर देखिन्छ तर, दीर्घकालमा ठूलो असर पर्दैन,” उनले भने, “शेयर बजारलाई राजनैतिक कारणले असर त परेको देखिन्छ तर त्यस्तो आत्तिनुपर्ने भने देखिदैन”।

घटेकै बजारमा पनि राम्रो लाभांश दिने कम्पनीहरुको शेयरमूल्य भने बढिरहेको र अहिले आत्तिएर शेयर बेचेर भाग्न खोज्नु मुर्ख काम भएको उनको तर्क छ। घटेकै बजारमा पनि ४ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। हिमालयन डिस्टिलरीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। कम्पनीले गत बिहिबार मात्रै ५० प्रतिशत नगद र ५० प्रतिशत बोनस गरी शतप्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रधानमन्त्री केपि ओली र प्रचण्डवीच लामो समयदेखि नै विवाद चलिरहेको थियो। त्यसबाट देश बाहिर आउनै पर्ने र यसले देशलाई पनि एउटा निकास दिने रौनियारको भनाइ छ।

तर, बजारमा लगानीकर्ता भने निकै आत्तिएको देखिन्छन्। संसद विघटनले बजारमा कस्तो असर पर्ला भन्ने एकिन नभएकाले उनीहरुमा अन्योल देखिएको छ। राजनैतिक कारणले बजारमा केहि नकारात्मक असर गर्ने आंकलन गर्दै लगानीकर्ताहरु शेयर बिक्री गर्नेतर्फ लागेको देखिन्छ।

आइतबार बजार खुल्ने वित्तिकै बजारमा बिक्री चाप निकै बढेको थियो। बजार खुलेको आधा घण्टामानै नेप्से सूचक ७० अंकभन्दा बढीले घटेको थियो। सो पश्चात भने बजार थामियो र केहि सुधार आयो। तर पनि बजारमा ठुलो उतारचढाव आइरहेको छ।

संसद बिघटनपछि के होला भन्ने अन्योलले लगानीकर्तामा मनोबैज्ञानिक असर पारेको ब्रोकरहरु बताउछन्। संसद विघटनको कारणले मनोबैज्ञानिक रुपमा तत्काल शेयर बजारमा असर देखिएको ब्रोकर एशोशियसनका पूर्व अध्यक्ष भरत रानाभाटले बताए। तर संसद विघटनकै कारणले बजारमा ठूलो प्रभाव भने नपर्ने उनको आंकलन छ। “मनोबैज्ञानिक हिसावले तत्कालका लागि केहि असर देखिएको भए पनि बजारमा त्यस्तो ठूलो असर गर्ने देखिदैन।” उनले भने।-मेरोलगानी



प्रतिक्रिया दिनुहोस्

Screenshot