काठमाडौं, ५ पौष । प्रतिनिधिसभा बिघटनको निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओली पछि नहट्ने भएका छन् । बरु उनी नयाँ जनादेशमा जाने प्रक्रियामा छन् ।
ध्यावधि चुनावको मिति घोषणा मन्त्रिपरिषदबाट निर्णय गरेर जाँदैछन् । अबको मन्त्रिपरिषद बैठकमा भने ओलीवरोधी मन्त्रीहरु रहने सम्भावना कम छ ।
ओली नयाँ ढंगले अगाडि बढ्ने भएका छन् । मन्त्रिमण्डलमा नयाँ अनुहारलाई ल्याउने तयारी गरिसकेका छन् । अबको मन्त्रिमण्डलमा बामदेव गौतम उपप्रधानमन्त्रीसहित गृह वा रक्षामा जाने बुझिएको छ । गौतमले पछिल्लो समय ओलीलाई साथ दिनथालेका छन् ।
महेश बस्नेत पनि मन्त्री बन्ने निश्चितप्रायः छ । उनी ओलीका जुझारु विश्वासपात्र हुन् । किसान श्रेष्ठ पनि मन्त्री बन्ने सम्भावित छन् । मन्त्रिमण्डलमा इश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, लेखराज भट्ट, पदमा अर्याल, कृष्णगोपाल श्रेष्ठलगायत मन्त्री कायमै रहनेछन् ।
पूर्व माओवादीबाट मन्त्री भएकाहरु सबैजसो हटाइदैछन् । वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र बिना मगरलाई हटाउने तयारी भइसकेको छ । उनीहरुमध्ये पुन र मगरले पछिल्लो समय ओलीको आलोचना गर्दै आएका थिए ।