Logo

तनहुँमा विकासका काम, धमाधम



–सानेबहादुर नेपाली तनहुँ, ५ पुस: कोभिड–१९ का कारण देशैभर विकास निर्माण प्रभावित भएको अवस्थामा तनहुँका विकासे काम पनि अछुतो रहने कुरा भएन । कोरोना महामारीले यहाँका धेरै कार्यहरु प्रभावित भए पनि पछिल्लो समयमा भने यहाँको विकास निर्माणले गति लिएको छ ।

आर्थिक वर्ष ०७६÷०७७ को अन्तिमदेखि कोरोनाका कारण रोकिएका काम आव ०७७÷०७८ को शुरुआतसँगै विस्तारै अघि बढाइएको छ । जिल्लाको विकासमा सङ्घ, प्रदेश र स्थानीय तीनवटै सरकारले हातेमालो गर्दै अघि बढेको देखिन्छ । बहुवर्षीय ठेक्का सम्झौता भएका सडक, पुल, सामुदायिक भवन तथा स्थानीय तहमा विकास निर्माणका काम पुनःपुरानै अवस्थामा फर्किन थालेको देखिएको छ ।

जिल्लामा सङ्घीय सरकारबाट १० वटा योजना हस्तान्तरण भई आएका छन् । यसअन्तर्गत सडक र पुल पहिलो प्राथमिकतामा छन् । निर्माणाधीन अवस्थाका आयोजनाको १० देखि १५ प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ ।

जिल्लाको कलेस्ती, गजौडे बिर्ता, सुँगुरेभञ्ज्याङ, टुहुरेपसल, अर्मलेभञ्ज्याङ, रम्घा, हटिया हँुदै ५०० फाँट सडक, कालिमाटी दूधेकुना मानेचौका कुन्छा सडक निर्माण हुँदैछन् । त्यस्तै बुद्धसिं मार्गमा लाब्दीखोला पुल, भिमादको मिर्दी क्याक्मी सडक, व्यास नगरपालिका– १ र ३ जोड्ने बुल्दीखोलमा पुल निर्माण अघि बढेको छ । शालिग्राम करिडोर गजरकोटअन्तर्गत सुरौदीखोला दुलेगौडा, फिरफिरे बाडखोला सडक, शुक्लाण्डकीको बडहरे खोला पुल, मस्र्याङ्दी नदीमाथि देउरालीघाट पुल र कलेस्ती गजौडे टुहुरेपसल अर्चले भञ्ज्याङ सडक मार्ग निर्माण हुँदैछ । जसको कूल लागत रु छ करोड २५ लाख छ ।

त्यस्तै गण्डकी प्रदेश सरकारले सडक, पुल, झोलुङ्गे पुल निर्माणमा प्राथामिकता दिएर बजेट विनियोजन गरेको छ । प्रदेश सरकारमार्फत ४९ वटा सडक, पन्ध्र सडक पुल र पन्ध्र झोलुङ्गे पुल सम्झौतापछि निर्माणाधीन अवस्थामा छन् । पूर्वाधार विकास कार्यालय मातहतबाट प्रदेशभित्रका गाउँपालिकामा स्थानीय तह र सङ्घसंस्थाको सहलगानीमा निर्माण गर्ने क्रमागत योजनाअन्तर्गत घिरिङ र देवघाट गाउँपालिकाको सभाहल निर्माण थालिएको छ । यिनको लागत क्रमशः रु ३५ लाख र रु २० लाख रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

बन्दाबन्दीलाई खुकुलो बनाएसँगै विकासका कामले गति लिएको बताउँदै उहाँले तनहुँ विकास निर्माणका क्षेत्रमा केन्द्र बन्दै गएको बताउनुभयो । त्यस्तै जिल्लास्थित प्रादेशिक सरकारी भवन, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको भवन, भिमाद सामुदायिक भवन निर्माणका साथै जिल्लास्थित प्रादेशिक सरकारी भवन मर्मतसम्भार, सामुदायिक तथा अन्य भवन निर्माण तथा मर्मतसम्भार गर्ने कार्यक्रम छ । यसका लागि कूल रु २८ करोड पाँच लाख विनियोजन गरिएको छ ।

जनता आवास कार्यक्रमअन्तर्गत जिल्लामा क्रमागत १५० वटा भवन निर्माण हुँदैछन् । शुरुमा शहरी विकास तथा भवनले गर्दै आएको उक्त काम हाल पूर्वाधार विकास कार्यालयबाट गर्ने व्यवस्था छ । यसका लागि रु १३ करोड नौ लाख विनियोजन गरिएको छ ।

बहुवर्षीय ठेक्का सम्झौता गरिएका सडक आयोजनामध्ये सात वटा गण्डकी प्रदेशका गौरव आयोजनाअन्तर्गतका ठूला बजेटका सडक आयोजना छन् । जिल्लाको आँबु, भाँगे, छिम्केश्वरी, हिलेखर्क, बाहुन भञ्ज्याङ, छिम्केश्वरी सडक पर्यटक मार्गको नामले परिचित छ । जिल्लाको अधिकतम उचाइ भएका पहाडमध्येको छिम्केश्वरी डाँडा समुद्री सतहबाट करिब दुई हजार १३४ मिटर उचाइमा छ । यस सडकका लागि रु ३४ करोड ८० लाख विनियोजन गरिएको छ । शर्मा काष्ठमण्डप निर्माण सेवाले निर्माणको जिम्मा पाएको यो सडकको गत साउनदेखि काम गर्नुपर्ने भए पनि कोरोनाका कारण देखाउँदै दशैँअघिदेखि दैनिक १२० जना कामदार लगाएर काम गरिरहेको छ ।

करिब १० किलोमिटर दूरी आगामी असार मसान्तभित्र सम्पन्न गर्ने योजना छ । यस आवमा रु आठ करोड ४७ लाख बजेट छुट्याइएकामा रु साढे दुई करोड बराबरको निर्माण सम्पन्न भइसकेको छ । निर्माण कम्पनीले मेशिनले गर्नुपर्ने करिब तीन हजार घनमिटर काम सम्पन्न गरी सात किलोमिटर कालोपत्र गर्ने तयारी गरेको छ भने १६ किलोमिटर सडकको ट्रेन निर्माण अघि बढाइएको छ ।

प्रदेश सरकारको बजेटले १६ किमी सडक कालोपत्र गर्ने योजना छ । उक्त बजेटले नपुगेर बाँकी मार्ग आँबुखैरेनी गाउँपालिकाको पहलमा सम्पन्न गर्ने योजना छ । करिब चार किलोमिटर सडक मार्ग गाउँपालिकाको सहयोगमा सडक निर्माण भइरहेको छ । फराकिलो स्थानमा तीन र साँघुरो स्थानमा दुई मिटर सिँढी र रेलिङ निर्माण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो ।

छिम्केश्वरी मन्दिरभन्दा केही तलसम्म सडकको व्यवस्था गरिएको जानकारी दिँदै उहाँले मन्दिरमा जाने भक्तजनले करिब ७०० मिटर बाटो हिँडेर जानुपर्ने हुन्छ । कोरोनाको अप्ठ्यारो अवस्थामा पनि विकासले गतिले लिएको बताउँदै उहाँले २०७८ माघ ६ गतेसम्म आयोजना सम्पन्न गर्नुपर्ने सम्झौता गरी निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो ।

आँबुदेखि भाँगेसम्मको करिब साढे दुई किमी दूरीमा सालको रुख पर्ने भएकाले काम गर्न नसकिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । वातावरणीय प्रभाव पर्न सक्ने भन्दै डिभिजन बन कार्यालयले अवरोध गरेपछि उक्त क्षेत्रमा निर्माण कार्य रोकिए पनि अन्यत्र भने काम सुचारु भैरहेको छ । भौतिक पूर्वाधार मन्त्रालयको पूर्वाधार विकास निर्देशनालयलाई परिपत्र गरी समस्याको निकासका लागि अनुरोध गरिएको छ । निर्देशनालयले वातावरणीय प्रभाव अनुसन्धानका लागि भाडामा कन्सल्टेन्सी लिएर प्रक्रिया अघि बढाइसकेको बताइएको छ ।

दुलेगौडा हर्कपुर मार्गले जिल्लाको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई समेट्ने छ । करिब १० किमी सडक कालोपत्र गर्नका लागि यस वर्ष रु पाँच करोड बजेट विनियोजन गरेको छ । कूल बजेट रु २५ करोड १० लाख रहेको छ । शालिग्राम करिडोर लोकमार्ग आयोजनाले जिल्लाको बैडी घिरिङ देवघाट खण्डलाई समेटेको छ ।

उक्त मार्गको २१.५ मिटर सडक ग्राभेल गर्ने योजनाअनुरुप विसं ०७६ फागुन २३ गते सम्झौता गरी काम थालिएको छ । विसं २०७९ फागुन २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको कूल लागत रु २५ करोड आठ लाख ७३ हजार ५१४ छ । नवलपुरको डेढगाउँको पुलबाट करिब २०० मिटर क्षेत्र वनका कारण रोकिएको छ ।

उक्त सडक मार्गमा अहिले दैनिक १२० कामदारले काम गर्दै आएको पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले बताउनुभयो । भानुमार्ग चन्द्रावती पोखरीछाप, पुलिमराङ हुँदै कुन्छा फेदी सडकले जिल्लाको भानु नगरपालिका क्षेत्र र छिमेकी जिल्ला लम्जुङ क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन् । कूल बजेट रु २३ करोड दुई लाख रहेकामा यस वर्ष रु पाँच करोड विनियोजन गरिएको छ ।

उक्त मार्गको करीब १० किमी मार्ग यसै आवमा कालोपत्र सम्पन्न गर्नेगरी विसं ०७८ माघ १५ सम्झौता गरिएको छ । श्रृंगकाली मोटमार्गले जिल्लाको घिरिङ, ऋषिङ र नवलपुरको मानपुर डेढगाउँका बासिन्दा लाभान्वित हुनेछन् । उक्त मार्गअन्तर्गत १०.५ किमी दूरी कालोपत्र गर्ने गरी कूल बजेट रु २२ करोड ८५ लाख विनियोजन गरिएको छ ।

विसं ०७६ फागुन ८ गते सम्झौता गरेको सपना निर्माण सेवाले विसं ०७८ फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य लिइएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । दासढुङ्गा देउपुर मार्गले तनहुँ र चितवन जिल्लालाई समेट्नेछ भने यस मार्गको छ किमी दूरी कालोपत्र गरिँदैछ । उक्त मार्गको कूल लागत रु १४ करोड ८७ लाख रहेको छ । शुरुमा गाउँपालिकालाई केन्द्र नबनाइ अर्को स्थानबाट सडक लगेको भन्दै विरोध गरेकाले करिब एक हजार ५०० मिटर काम गर्न रोकिएकाले तुरुन्तै डिपिआर गराएर कामअघि बढाउन लागिएको छ ।

गत साउन महिनामा बुद्धसिं मार्ग हुँदै दासढुङ्गा जोड्ने मार्ग पहिराले क्षति पुग्दा आवतजावतमा समस्या भएको थियो । सडक डिभिजन कार्यालय दमौलीले तथ्याङ्क सङ्कलन गरेपछि पूर्वाधार विकास कार्यालयले सम्झौता गरी गण्डकी प्रदेश सरकारबाट विनियोजित रु १२ लाख ५० हजारबाट अवरुद्ध मार्ग सञ्चालन गरिएको थियो ।

भिमाद ऋषिङ सडक मार्गले जिल्लाको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । उक्त मार्गको छ किमी कालोपत्र गरिनेछ । त्यसका लागि रु बाह्र करोड ७८ लाख बजेट विनियोजन गरिएको छ । उक्त योजनाको विनियोजित रकम जुन शीर्षकमा परेको हो त्यहीअनुरुप खर्च हुनुपर्ने भए पनि त्यो नभएको भन्दै गण्डकी प्रदेश सरकारलाई परिपत्र गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश सरकारले सडक मार्गलाई जस्तै सडक पुल निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । जिल्लाको व्यास नगरपालिका–८ स्थित रिस्तीखोलामा दुई वटा, घाँसीकुवा र फराकचौर जोड्ने बुल्दीखोलामा, सेतीनदीमाथि दमौली बीसघरे झापुटार क्षेत्रमा सडक पुल निर्माणाधीन अवस्थामा छन् । त्यस्तै गाईघाट त्रिशूली नदी, क्याङ्दी नदी दोभान, बरखोला जरेबर, सेती नदी, अर्याल खोला, लोकतान्त्रिक साँघुको मुख, ज्वाला खोला, लुम्दी खोला, तिरम्दीखोला, दु्रपदखोला र फेदीखोला सडक पुल निर्माण भइरहेका छन् ।

त्यस्तै जिल्लामा झोलुङ्गे पुल बन्ने कामले पनि गति लिएको छ । आइलुङ पिउघर सेती नदीमा, व्यास–१० परेवा डाँडा र व्यास–५ चिन्तुटार जोड्ने मादी नदीमा, शुक्लागण्डकी–२ र पोखरा महानगरपालिका–३३ जोड्ने मसिना खोलामा, समस्तीपुर पानचोक, जुंगे फाँट मस्र्याङ्दी नदीमा, बाह्रबीसे मस्र्याङ्दी नदीमा, भानु नगरपालिका–३ र नारायणचौर गोरखा जोड्ने खहरेमा, ढाक्रेबास गिरनचौर जोड्ने मैदी खोलामा झोलुङ्गे पुल निर्माण बढेका छन् । भिमाद र म्याग्दे जोड्ने सेतीनदीमा निर्मित ऐतिहासिक झेलुङ्गे पुल जीर्ण अवस्थामा रहेकोले त्यसको मर्मतसम्भार गरी संरक्षण गर्न लागिएको छ । त्यस्तै साँघे खोला, शान्तिनगर सिम्बोट, टाँडीस्वाँरा भतेरी कालीगण्डकीमा, जनज्योति अल्छी चौतारी जिग्दी खोलामा झोलुङ्गे पुल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन निर्माण तथा वातावरणीय प्रभाव अध्ययन गर्ने कार्य भइरहेको छ ।

जिल्लामा प्रदेश र सङ्घबाट ठूला आयोजना निर्माणका लागि बजेट विनियोजन गरेका छन् भने स्थानीय सरकारले ससाना विकास निर्माणका कार्यलाई अघि सारेका छन् । पर्यटनका प्रचुर सम्भावनालाई दृष्टिगत गर्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न यहाँका पालिकाले सक्रियता देखाएका छन् ।

चीनको जस्तै झझल्को दिनेगरी बन्दीपुर गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि हुने दाबी गरिएको छ । एक हजार १०० मिटर लामो उक्त मिनी ग्रेटवाल निर्माण अन्तिम चरणमा पुगेको छ । यसका लागि बन्दीपुर गाउँपालिकाले रु ७० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । जिल्लामा तनहुँसुर, बन्दीपुर, ऋषिङकोट, मानहुँकोट, पुलिमराङ आदि ऐतिहासिक स्थलका रुपमा परिचित छन् भने देवघाट, अकला, व्यास पराशर, ढोरबाराही, तीनखोले मन्दिर, छाब्दी बाराही, तनहुँ कालिका आदिले यहाँको धार्मक तथा सांस्कृतिक महत्व बढाएका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्