प्रभातकालीन सुर्यको किरणले मानिसलाई पोषकतत्व प्रदान गर्दछन् । ज्ञानी मानिस यस तथ्यसँग परिचित हुन्छन् । त्यसै उनीहरु सुर्योदयभन्दा पहिले नै उठेर रश्मि मिसिएका प्राण तत्वरूपी रत्नलाभ प्राप्त गर्दछन् । त्यसबाट मानिसहरुले दीघार्यु प्राप्त गरेर सन्तान लाभ गर्दै स्वस्थ जीवन प्राप्त गर्दछन् ।
प्रातःकाल उठेर जो मानिस यज्ञादि नित्यकर्ममा लाग्दछन्, तिनका लागि जीवनमा धन–धान्य, एवं सुखको नदी नै प्रवाहित हुन्छ । जीवनका लागि अति उपयोगी व्यावहारिक सुत्रहरुलाई नै धर्मको रुपमा उल्लेख गरेका थिए हाम्रा पुर्वज ऋषिहरुले । धर्म अर्थात गरिनैपर्ने कर्तव्यलाई ‘पुण्य’ कर्मको रुपमा व्याख्या गरियो । हुन पनि धर्मबाट लाभ नै हुन्छ । यद्यपि कर्तव्यलाई लाभ र हानीको द्वन्द्वबाट मुक्त भएरै गरिनुपर्छ भन्ने आर्ष ऋषिहरुको शिक्षा रहेको छ ।
बिहान चाँडै उठ्नु, ब्रह्ममुर्हतमा प्राणवायुको सेवन गर्नु, सन्ध्या बन्दन गर्नु, सुर्योदयपछिको करिब एक घन्टासम्मका कलिला रश्मि शरीरमा पर्न दिनु (बिहानको घाम ताप्नु) जस्ता दैनिक जीवनका सुत्र स्वास्थ्य, शुभभावना वृद्धि र समृद्धिका साथै समयको साथृक सदुपयोगका लागि पनि हो । शरीर फुर्तिलो हुन्छ । मन उत्साहपुर्ण बन्छ । दिनभरिका कार्यको लागि आवश्यक ऊर्जा प्राप्त गर्न सकिन्छ । बिहान चाँडै उठ्नाले कयौँ व्यक्तिगत विकासका कामहरु गर्न समय मिल्छ ।
त्यसपछिको समयलाई परिवार, व्यावसाय, समाज इत्यादीका लागि नियोजित गर्न सकिन्छ । यसरी आलस्य नगरिकन धर्मप्रेरित नित्यकर्म गर्नाले मासिनले जीवनमा निकै उन्नति गर्न सक्छ । किनभने आरोग्य अर्थात स्वस्थ शरीर नै धर्म–कर्तव्य निर्वाहको पहिलो साधन हो–शरीरमाद्यं खलु धर्म साधना ।