Logo

ओलीलाई अनुशासनको कारबाही गर्न सिफारिस



काठमाडौं, पुस ६। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ । आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्न केन्द्रीय समितिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको बताए ।

संसद् विघटन गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरेपछि असन्तुष्ट नेताहरू अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णयमा पुगेका हुन् । नेकपा प्रवक्ता श्रेष्ठले बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको बताए । उनले यसको राजनीतिकसँगै कानुनी उपचार खोज्ने निष्कर्ष बैठकले गरेको बताए ।

सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरमा नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय, सोमबार दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्ने

उनले सबै पक्षलार्ई एकताबद्ध भएर उभिन आह्वान गरिएको निर्णयसमेत भएको बताए । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामाथि निर्मम प्रहार गरेको भन्दै स्थायी कमिटी बैठक जारी रहेको र संसद् अधिवेशन बोलाउनुपर्ने बेलामा दुई ठूला कम्युनिस्ट पार्टीको एकता र पार्टीको भविष्यलाई नै अन्धकारतर्फ धकेल्ने र नेपालको संविधानमाथि नै कुकृत्य गरेको बताए ।

पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको छ । यसका लागि ७ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।

त्यसैगरी सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरमा नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ । सोमबार दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्ने उनले जानकारी दिए । त्यस्तै बैठकले पूर्वसभामुखसमेत रहेका नेकपा नेता कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको छ ।

यसैबीच नेकपा अध्यक्ष पुष्पकमल दाहालले संसद् विघटनको सिफारिस गरेर प्रधानमन्त्री ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको टिप्पणी गरेका छन् । मन्त्रिपरिषद् बैठकलगत्तै छलफलका लागि बालुवाटार पुगेका अध्यक्ष दाहालले संसद् विघटन सिफारिस गरेर प्रधानमन्त्री ओलीले गणतन्त्रमाथि ‘कु’ गरेको बताए ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्