Logo

सत्तारूढ दल नेकपाको किचलोः प्रतिनिधिसभा विघटन, वैशाखमा निर्वाचन



काठमाडौ, पुस ६ । सत्तारूढ दल नेकपाभित्रको किचलोका कारण अन्ततः प्रतिनिधिसभा विघटन हुन पुगेको छ भने मुुलुकमा मध्यावधि निर्वाचन हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी वैशाखमा निर्वाचन गर्न गरेको सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि यस्तो अवस्था आएको हो ।

आइतवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको थियो । मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्री ओली सिफारिश लिएर राष्ट्रपति निवास शीतल निवास पुगेका थिए । सोही सिफारिशअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यासबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरिएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोहीबमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिश भएकाले उक्त सिफारिशबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रवार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमवार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा भंग गरेपछि प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीहरू तथा सुरक्षा निकायका प्रमुुखहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन् । आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तसँग मध्यावधि निर्वाचनबारे छलफल गरेका थिए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललगायत सहभागी रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्