Logo

उखु किसानले आन्दोलन स्थगित नगर्ने



काठमाडौं, पुस ६ । भुक्तानी दिने क्रम सुरु भए पनि उखु किसानले आन्दोलन स्थगित नगर्ने भएका छन् । सरकार र आन्दोलनरत उखु किसानबीच आइतबार भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगीले भुक्तानी दिने क्रम सुरु गरेकाले आन्दोलन स्थगित गर्न आग्रह गर्नुभएको थियो तर उखु किसानले सम्पूर्ण भुक्तानी नभएसम्म आफूहरू आन्दोलन स्थगित नगर्ने अडानमा रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताईन् ।

आन्दोलन सुरु गरेयता श्रीराम सुगर मिलले २५ करोड र अन्नपूर्ण सुगर मिल तथा इन्दिरा सुगर मिलका सञ्चालकले आठ करोड रुपियाँ भुक्तानी गरिसकेका छन् । ती मिलका सञ्चालकले दिनदिनै भुक्तानी गर्दै आएको भए पनि किसानले पूरै भुक्तानी नभएसम्म शान्तिपूर्ण आन्दोलन गर्ने धारणा वार्तामा राखेको उनको भनाई छ । आन्दोलनको अगुवाइ गरिरहेका राकेश मिश्रले सोमबारदेखि मौन आन्दोलन गर्ने बताएका छन् ।

मन्त्रालयले किसानको सम्पूर्ण बक्यौता भुक्तानी गराउन पहल गर्ने प्रतिबद्धतासमेत गराएको छ । उद्योगीले पनि यो महिनाभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराइदिने प्रतिबद्धता जनाएका छन् तैपनि किसानलाई विश्वास नलागेको सहप्रवक्ता केसीको भनाई छ ।

मन्त्रालयले गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरूलाई भुक्तानीका लागि उद्योगीलाई दबाब दिन भनिसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्