विपिन देवः नेपाली काङ्ग्रेस वर्तमान अवस्थामा संघर्ष र संग्रामको यात्रामा छ । चिनियाँ सरकारको मूखपत्र ग्लोवल टाइम्सको नेपाली काङ्ग्रेसलाई भारतको पोल्टामा राखेको देखिन्छ । हुनतः नेपाली काङ्ग्रेसले इतिहासको आरोह र अवरोह यस्ता किसिमका आरोपहरूलाई पटक पटक सामना गरेको देखिन्छ । तर, आजको मूल प्रश्न नेपाली काङ्ग्रेसको प्रस्थान विन्दु र भावी रणनीति कस्तो होला भन्ने हो । नेपाली काङ्ग्रेसका मूर्धन्य नेताहरू आफ्ना कार्यकर्ताहरूलाई परिचालित गर्दै देशको कुना कुनामा संघर्षको शंखनाध गर्दै छन् भने सरकार विरुद्धका मुद्दाहरूको चाङ्ग हु‘दा हु‘दै पनि त्यसलाई प‘ुजीकृत गर्ने विपक्षी नेताहरूलाई हम्वे हम्वे भइरहेको अवस्था छ । नैतिक बलको कमी, संगठनमा कम पकड, मन्त्री र सत्ता भोगका समयमा विभिन्न किसिमका अभियोग र आरोपबाट आरोपित एवंम् सुकिला र मुकिला अनुहारले गर्दा काङ्ग्रेसले विगुल फुकेको आन्दोलनको हुरी र वेग शुरुवात भइरहेको छैन । यस पृष्ठभूमिमा नेपाली काङ्ग्रेसले आफ्नो दार्शनिक धरातल र संघर्षको निक्षेपलाई आत्मनिरीक्षणद्वारा आत्मसाथ गर्नु पर्दछ । कुनैपनि जीवन्त राजनैतीक दलले अप्ठेरो बेलामा आफ्नो अतितलाई मानसपटलमा राखेर भविष्यको मार्गचित्रलाई मापन गरेको खण्डमा नै सफलताको चुचुरोमा पुग्न सक्दछ ।
नेपाली काङ्ग्रेसको दार्शनिक धरातललाई विर्मश गर्दा डा. राम मनोहर लोहिया र जयप्रकाश नारायणलाई पक्कै नै सम्झिनु पर्नेछ । वी.पी. कोइरालाले आफ्नो विभिन्न आलेख र अभिव्यक्तिद्वारा डा. लोहिया, जयप्रकास नारायण, गान्धी र माक्र्सको प्रभावलाई स्वीकार गरेका छन् । महापुरुष माथि ज्ञान, विज्ञान र दर्शनको प्रभाव पर्नु स्वाभिक नै हो । डा. लोहिया २२ वर्षको उमेरमा जर्मनीवाट गान्धीको सैद्धान्तिक आधारको शीर्षकमा विधावारिधि गरेर भारतको स्वतन्त्रता संग्राममा होमिएको महानायक हुन जसको नेपाल र नेपालीसंग विषेश सम्वन्ध रहेको छ । डा. लोहियाको दार्शनिक प्रारुपलाई आलोकित गर्नु भन्दा पहिले डा. लोहियाले नेपाल र नेपालीसंग राखेको सम्वन्धको वारेमा चर्चा गर्नु उचित हुनेछ । सन् २००४ साल ताका डा. लोहिया, जयप्रकास नारायण र अच्चूत पटर्वधन जस्ता नेताहरूले नेपालको हनुमाननगर भन्ने ठाउ‘मा आश्रम लिई अङ्ग्रेज विरुद्ध आन्दोलन चलाएका थिए । नेपाल र नेपालीको सदभावले गर्दा यी मूर्धन्य व्यक्तिहरू यथेष्ट सहयोग पाएका थिए ।
डा. लोहिया नेपालको रहेका राणा शासनलाई अन्त्य गर्न अन्र्तराष्ट्रिय संघर्षको मुद्दा बनाएका थिए । नेपाली काङ्ग्रेसको सैद्धान्तिक मस्यौदा, नीति र कार्यक्रम तयार गर्न वी.पी.को अनुरोधमा नेपाली काङ्ग्रेसको वैठकमा पनि उपस्थित हुन्थे । खास अर्थमा भारत स्वतन्त्र भए लगतै राण शासनको विरोधमा दिल्लीस्थित नेपाली राजदूतावासको अगाडि विशाल प्रर्दशन गरेर नेपालको मुद्दामा डा. लोहिया भारतमा केही महिनाको लागि जेलचलान भएका थिए । यो कुरा कुनै साधारण घटना थिएन । सन् १९४३ देखि १९४६ सम्म भारतको स्वतन्त्रता लागि जेलमा वसेका डा. लोहिया भारत स्वतन्त्र हुने वित्तिकै आफ्ना सहयात्री पण्डित नेहरु प्रधानमन्त्री र पटेल गृहमन्त्री भएर पनि जेल चलान हुनु अद्भूत घटना हो । नेहरुले डा. लोहियालाई जेलमा नराख्न पटेललाई दवाव दिए तापनि पटेलले यो घटनाबाट भारतका परराष्ट्र नीति नै प्रभावित हुने तर्क दिएका थिए । अर्थात् मित्रराष्ट्रहरूको आन्तरिक समस्याको लागि भारत भूमिमा आन्दोलन हु‘नु हु‘दैन भन्ने पटेलको तर्क देखिन्छ । त्यस्तै वी.पी. आमरण अनसनमा जीवन र मृत्युको वीचमा रहेको अवस्थामा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई महात्मा गान्धीसंग भेट गराई राणाहरू माथि वी.पी. रिहाईको लागि दबाब दिलाउने व्यक्ति डा. लोहिया नै थिए । माहात्मा गान्धीसंग वी.पी.लाई भेट गराउ‘ने व्यक्ति पनि डा. लोहीया नै थिए । अब वर्तमान सन्र्दभमा डा. लोहियाको दार्शनिक आग्रह माथि चर्चा गरौं ।
डा. लोहियाले बुलेट र वायलेटको बीचको बाटोलाई संघर्षको यात्राको रुपमा रेखाङ्कित मात्र गरेका छैन कि त्यसलाई प्रयोग पनि गरेको छ । अर्थात् बुलेट र ब्यालेटको बीचको यात्रा नै सत्याग्रहको यात्रा हो । डा. लोहीयाले सत्याग्रहको माध्यमवाट गोवाको मुक्ति, यु.पी.मा नहर एक्टको खारेजी, अमेरिकामा अश्वेतलाई होटल प्रवेश निषेधको विरोधमा अन्दोलन जस्ता अनवरत सत्याग्रहको यात्रा गरेको देखिन्छ । जीउ‘दो मान्छे पॉच वर्ष प्रतिक्षा गर्न सक्दैन भने डा. लोहियाको जनतासंग आग्रह थियो । आज नेपाली काङ्ग्रेसले संघर्षको यात्रा सत्याग्रहलाई बनाउ‘दै आफ्नो अनुभवको निक्षेपलाई पु‘जीकृत गर्दै अगाडि बढ्नु पर्दछ ।
डा. लोहिया आफ्ना कृति “इकनोमि आफ्टर माक्र्स” र “मिसिङ्ग प्वाइन्ट इन माक्र्सजीम” मा माक्र्सवादको तर्कलाई खण्डन गर्दै भारत र एसियाको परिपेक्षमा वर्गीय संघर्ष भन्दा जातीय संघर्ष टड्कारो आवश्यकता हो भने तर्क राखेका छन् । आफ्नो दार्शनिक दस्तावेज “सप्त क्रान्ति” मा लोहियाले आग्रह गरेका छन् कि जातीय विभाजन र जातीय विभेदले गर्दा पीडित र प्रताडित वर्गलाई राजनैतिक, आर्थिक र शैक्षिक मूल प्रभावमा ल्याउ‘न विशेष अवसर दिनु पर्ने उनको आग्रह देखिन्छ । अर्थात डा. लोहियाको विचारको आधारमा नै भारतमा रिजरभेषनको प्रयोग भएको देखिन्छ । नेपालमा तथाकथित जनयुद्धले नेपालको जातीय व्यवस्था र समस्यालाई पु‘जीकृत गर्दै आफ्नो संघर्षको यात्रा शुरु गरेका थिए । दुर्भाग्यवस माओवादीको नीति समस्यालाई खारेजी (डाइगनोष्टिक) भएता पनि समाधानमुखी (प्रेस्र्कीसटिंभ) सिद्ध भएन । एक अर्थमा भन्ने हो भने समावेशी नेपाली काङ्ग्रेसको धरोहर हो ।
वीपीको क्यावनेट यसका प्रतिनिधि उदाहरण भएता पनि कालान्तरमा नेपाली काङ्ग्रेस यसलाई प्रयोग गर्न सकेन । परिणाम स्वरुप पहाड र मधेशमा संगठन कमजोर भयो । डा. लोहियाले “सप्त क्रान्ति” का सिद्धान्तलाई चर्चा गर्दा नर(नारीको विभेदलाई अगाडि सारेका छन् । आर्दश नारीको रुपमा द्रोपतीलाई विम्व बनाएका छन् भने सीता र सावित्रीको आर्दशलाई स्वीकार गरेका छैन । अर्थात् नारी भन्नाले पुरुषसंग प्रतिवाद र प्रश्न गर्न सक्ने र पुरुषलाई हाक दिन सक्ने हुनु पर्दछ । डा. लोहिया मिथकको विम्वलाई वहुत सुन्दर ढङ्गले प्रयोग गर्थे अर्थात् । शिव जस्तो मस्तिक, राम जस्तो चरित्र र कृष्ण जस्तो कृटनीतिज्ञ नै जीवनको सफलता हो भने उनको तर्क थियो । आज नेपाली काङ्ग्रेसले डा. लोहियाको विभिन्न सिद्धान्त मध्ये “गैर वरावरी” को सिद्धान्तलाई नेपालको राजनैतिक संघर्षमा अगाडि बढाउ‘नु पर्दछ । डा. लोहियाले भारतीय संसदमा प्रधानमन्त्रीको खर्च र साधारण जनताको खर्चको बीचको खाडलको स्वरुप माथि व्यापक बहस चलाएका थिए ।
तत्कालिन समयमा प्रधानमन्त्री नेहरुको दैनिक खर्च २५,००० र गरिव भारतीयको खर्च ३ आना रहेका उद्घोष डा. लोहियाले सदनमा राख्दै मानवीय संवेदना माथि चर्चा गरे । आज नेपालमा प्रधानमन्त्री लगायत उच्च तह र तप्काको जीवनस्तर र साधारण नेपालीको जीवन स्तन बीचको खाडल माथि विर्मश चलाउन आवश्यकता छ । नेपाली काङ्ग्रेसको सुविधायुक्त वर्ग यस वहसलाई अगाडि बढाउन नैतिक सार्मथ्य राखेको छैन । त्यसको लागि नयॉ नेतृत्वको आवश्यक्ता छ । डा. लोहिया पछि नेपाली काङ्ग्रेसको सन्र्दभमा जयप्रकास नारायणको विचार माथि वहस गर्नु आवश्यक देखिन्छ । जयप्रकाश नारायण र वी.पी.को बीच सहोदर दाई भाई जस्तो सम्वन्ध थियो । जयप्रकास नारायण र्माक्सवादका मर्मज्ञ भएता पनि कालान्तरमा गान्धीवाद सम्मोहित भयो । आफ्नो “सर्वोदयदेखि समाजवाद” सँगको यात्रामा जयप्रकाशले राजनीतिलाई नैतिक चेतसँग जोडे । यस अर्थमा लोहया र जयप्रकास नारायण दुइटै गान्धीका धरोहर हुन् । जयप्रकाशले “सम्पूर्ण क्रान्ति”लाई प्रयोग गरे ।
सत्तरीको दशकमा भारतमा इन्दिरा गान्धी प्रजातान्त्रिक बाटोबाट विचलित भइन् । अर्थात जे.पी.ले घेराउ, सत्याग्रह, हडताल, असहयोग, बहिष्कार जस्ता विभिन्न सत्याग्रहको सूत्रलाई प्रयोग गरेका छन् । नेपाली काङ्ग्रेसका केही नेताहरूको भौतिक रुपमा पनि यस आन्दोलनमा उपस्थिति र सहयोग थियो । जयप्रकाशको राजनैतिक आग्रह के थियो भने यदि जन प्रतिनिधिले आफ्नो दायित्व निर्वाह गरेको छैन भने स्वस्थ्य प्रजातान्त्रीका तरिका अनुसार जन प्रतिनिधिलाई दायित्वयुक्त गर्ने जनतालाई अधिकार हुनु पर्दछ । भारतमा यो सिद्धान्तलाई अन्ना हजारे जस्ता धेरै नेताले “लोकपाल” विलको रुपमा संघर्ष र आन्दोलन चलाए । जे.पी. डा. लोहिया र वी.पी.को सैद्धान्तिक मिश्रणवाट स्वस्थ्य गाउ‘को अवधारणा माथि विर्मश गर्नु पर्दछ । नेपाली काङ्ग्रेसले अब आउ‘ने दिनको संकटको गाम्र्भीयतालाई मध्यनजर गर्दै गाउ‘को योजना माथि विर्मश चलाउ‘नु पर्दछ । कोरनाको कहरले गर्दा विदेशवाट नेपाली फर्किदै छ, नेपालको शहरसंग सार्मथ्य छैन तर नेपालको प्रत्येक गाउ‘संग आत्मर्निभर हुन सक्ने सम्भावना प्रकृतिले दिएको छ ।
सच्चा समाजवादीले यस चिन्तनलाई अगाडि बढाउनु पर्दछ । नेपाली काङ्ग्रेसले आउने दिनमा आफ्नो राप र तापलाई बढाउ‘न संगठन, नेतृत्व र रणनीतिलाई समाजवादी दर्शनको कसीमा बढाउनु पर्दछ । गान्धीको सन्र्दभमा डा. लोहियाले भन्ने गर्थे कि भारतमा तीन किसिमका गान्धीवादी छन् । सरकारी गान्धीवादी (नेहरु) मठवादी गान्धीवादी (विनोवाभावे) र कुजात गान्धीवादी (लोहिया र जे.पी.)नेपालको सन्र्दभमा वी.पी.संग पनि यही अवगति भएको छ । अहिले सम्म वी.पी.लाई कुजात वी.पी.वादीहरूले वी.पी.को नामलाई बचाएको छ । यस अर्थमा नेपालको लोकतान्त्रीक र समाजवादी आन्दोलनलाई परिचालित गर्न एउटा नयॉ विर्मशको टड्कारो आवश्कता देखिन्छ ।