Logo

पेशाबाट पलायन हुँदै इलामका पत्रकार



मङ्गलबारे, ६ पुस । नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा छैनन्। हाल उनी मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत छन् । करिब दुई दशक लामो पत्रकारिता पेशा उनले परिवर्तन गरेका हुन् । लामो समयसम्म अन्नपूर्ण पोष्टसँग आबद्ध भएर उनले जिल्लामा रही पत्रकारिता गरे । उनले जिल्लामा नै पहिलो दैनिक पत्रिकासमेत सञ्चालन गरे । तर पत्रकारितामा भविष्य नदेखेर उनले यो पेशा छोडेको बताउछँन् ।

उनीसहित उनकी श्रीमतीले पनि पत्रकारिता पेशा छाडेकी हुन् । उनकी श्रीमती कमला भट्टराई पनि काठमाडौँबाट प्रकाशन हुने नेपाल समाचारपत्रसँगै जिल्लाकै पहिलो दैनिक पत्रिका सन्दकपुरमा कार्यरत थिइन् । तर उनीहरु दुवै जना हाल फरक काम गर्न थालेका छन् । कमला हाल सूर्योदय नगरपालिकामा काम गर्न थालेकी छिन् ।

विसं २०६५ बाट प्रकाशति जिल्लाकै पहिलो दैनिक पत्रिका बन्द गरेर उनीहरु फरक पेशामा लागेका छन् । पत्रकारिता धेरै व्यस्त हुने पेशा हो तर उनीहरुको दैनिकी त्योभन्दा कम व्यस्त छैन अहिले । “पहिलेभन्दा धेरै ब्यस्त भइएको छ”, रोहितचन्द्र भट्टराईले भने । मालपोत कार्यालय इलाममा सेवाग्राहीका लागि उनी खटिरहन्छन्। उनलाई पत्रकारिता पेशाप्रति भने सम्मान छ । गाउँगाउँमा गएर रिपोर्टिङ गर्दा आनन्द हुने भए पनि पैसा बचाउन नसक्दा भने घर चलाउन नै समस्या हुने गरेको कमला भट्टराईले बताए ।

पत्रकार महासङ्घकै पूर्वअध्यक्ष उमेश गुरुङ पनि हाल समाजसेवा र यससँगै राजनीतिमा लागेका छन् । उनले रेडियो नेपालमा आबद्ध भएर लामो समय काम गरेका थिए । जिल्लाको इलाम एफएममा समेत कुशल प्रस्तोताका रुपमा ख्याती कमाएका उनले हाल सञ्चारमाध्यमको जागिरलाई चटक्कै माया मारेर गाउँमा समाजसेवा तथा राजनीतिकर्मीका रुपमा आफूलाई व्यस्त राखेका छन् । धिरेन चेम्जोङ पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य थिए । उनले समेत जिल्लाका विभिन्न साप्ताहिकसँगै चियाबारी दैनिकको प्रधान सम्पादक समेत रहेर काम गरे ।

उनी पनि हाल राजनीतिमा नै क्रियाशील छन् । इलामकै अर्का पत्रकार विमल वैद्य नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य भएका थिए । तर उनी पनि हाल पत्रकारितामा सक्रिय छैनन् । जिल्लाको शुभप्रभात साप्ताहिकदेखि विभिन्न पत्रिकामा काम गरे पनि उनले हाल सदरमुकाममा व्यवसाय सञ्चालन गरिरहेका छन् । साहित्य लेखनमा सक्रिय उनको अहिलेको पेशा भने पत्रकारिता होइन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot