Logo

प्रचण्ड र माधव नेपाललाई चुनावको सामना गर्न प्रधानमन्त्री ओलीको चुनौती



काठमाडौं, ६ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई चुनावको सामना गर्न चुनौती दिएका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै प्रचण्ड र नेपालतर्फ संकेत गर्दै प्रधानमन्त्री बन्न व्यग्र भएकाहरुले चुनावको सामना गर्नुपर्ने बताएका हुन् ।

कतिपय नेताहरुले पार्टीले बहुमत ल्याउँदा यो केपी ओलीका कारणले होइन भन्नुभयो, आज देशवासीका नाममा सम्बोधन गर्दै ओलीले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने, चुनाव उहाँहरुको क्षमता मापनको पनि अवसर छ । प्रचण्ड र माधव नेपालको नाम उल्लेख नगरेपनि उनले पटक पटक दुवै नेताको अभिव्यक्ति समेत उल्लेख गरेर आलोचना गरे । उनले भने,‘ प्रधानमन्त्री बन्न व्यग्र रहनुभएकालाई पनि ताजा जनादेशमा जाने अवसर आएको छ ।’

सरकारविरुद्ध घेराबन्दी गरेको भन्दै देश र विदेशमा गएर अस्थिरता फैलाउने कार्य गरेको आरोप लगाए । प्रचण्डको नाम उल्लेख नगरी विदेशमा पुगेर अस्थिरता फैलाउने कार्य गरेको आरोप लगााए । माधव नेपालतर्फ संकेत गर्दै आफू विदेश यात्रामा जाँदा देश डुब्न लाग्यो भन्दै माझी गुहारेको बताए । उनले भने, ‘एक नेताले विदेशमा गएर अस्थिरताको वीजारोपण गर्नुभयो, अर्का नेताले म विदेशयात्रामा हुँदा देश डुब्न लाग्यो बचाउनुपर्यो भन्दै माझी गुहार्नुभयो ।’

ओलीले सम्बोधनको अधिकांश समय प्रचण्ड र माधव नेपालको आलोचनामा समय खर्चिएका थिए । उनले आफूविरुद्ध दाउपेच र षड्यन्त्र गरिएको आरोप समेत लगाए । देशलाई अस्थिरतामा फसाउन लागेको ओलीको आरोप थियो । उनले भने,‘सत्तापक्षकै साथीहरु प्रतिपक्षभन्दा बढी आक्रामक र षड्यन्त्रका गतिविधिहरुमा लाग्नुभयो ।’

सरकार र पार्टी संचालनमा निरन्तर बाधा उत्पन्न भएपछि चुनावमा जान वाध्य भएको बताए । उनले भने, ‘यो मेरो रुची वा छनोटको विषय थिएन । मुलुकलाई अर्कमण्यतामा राख्नु हुन्नथिएन । संसदलाई केही नेताहरुको बन्धक बनाइराख्न नहुने अवस्था थियो ।’ उनले तीता कुरा बिर्सेर एकतावद्ध भई निर्वाचनमा जान आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्