Logo

अन्ततः फुटतर्फ नेकपा



काठमाडौं, पुस ७ । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रूपमा दुई समूहमा विभाजित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले समानान्तर कमिटीमार्फत बैठक बस्ने निर्णय गरेसँगै सत्तारूढ नेकपा विभाजनको अन्तिम संघारमा पुगेको हो । सम्भवतः अब नेकपामा फुटको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको घटनाक्रमले पुष्टि गरेको छ ।

विवाद उत्कर्षमा पुगेर प्रतिनिधिसभा विघटन भएपछि दुवै समूहले आगामी रणनीति तय गर्न गुटगत भेला र बैठक बोलाउने क्रमलाई तीव्रता दिएका छन् । दुवै पक्षले एकले अर्कालाई अनुशासनको कारबाही गर्ने गरी तयारी अघि बढाएका छन् भने दुवै पक्षले आआफ्नो बैठकलाई नै आधिकारिक भएको दाबी गर्न थालेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकटका सांसदको भेला राखेर प्रतिनिधिसभा विघटन गर्नुका कारण र औचित्यबारे प्रकाश पार्दै सबैलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीका विरुद्ध हस्ताक्षर गर्ने चार जना सांसदहरू ओलीले बोलाएको भेलामा सहभागी भएका छन् । उनीहरूले दाहाल पक्षले आफूहरूको हस्ताक्षरको दुरुपयोग गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो हस्ताक्षरबिना पार्टीका कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् । नेकपाका हरेक निर्णयमा अध्यक्षको हस्ताक्षर हुनुपर्ने बताउँदै उनले हस्ताक्षरबिनाको निर्णयले वैधानिकता नपाउने भएकाले बैठकको निर्णयको कुनै अर्थ नहुने स्पष्ट पारे ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्