Logo

वीरगञ्ज नाकाः सवा खर्बको आयात, ७६ अर्बको निर्यात



वीरगञ्ज, पुस ७ । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महीनामा भारतबाट १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो अवधिमा भारततर्फ ७६ अर्ब ३३ करोड रुपैयाँ बराबरको मालसमान भारत निकासी भएको छ ।

चालू वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा वीरगञ्ज नाकाबाट भएको भारतसितको व्यापारमा मात्रै ४५ अर्ब १५ करोड रुपैयाँ व्यापारघाटा भएको भन्सारको तथ्यांकले देखाएको छ ।

भारतबाट आयात हुनेमा वस्तुमा सवारीसाधन, इन्धन र औद्योगिक कच्चा पदार्थ मुख्य छन् । पछिल्लो समयमा अधिकांश आयातित वस्तुको परिमाण घटेको भन्सार अधिकृत रमेश सुकमनीले बताए । कोरोना महामरीका कारण बजारमा परेको प्रभाव आयातमा पनि देखिएको सुकमनीले बताए ।

नेपालबाट भारत निकासी हुने मुख्य वस्तुको शीर्ष स्थानमा भटमासको प्रशोधित तेल कायमै छ । अघिल्लो वर्षसम्म पाम आयलको भारत निकासी उच्च भएकोमा भारतले आयात रोकेपछि स्वदेशी तेल उद्योगले भटमासको तेल निकासी बढाएका छन् ।

चालू आवको पहिलो ५ महीनामा वीरगञ्ज नाकाबाट मात्रै ९ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको ६ करोड ३१ लाख किलो यस्तो तेल भारत निकासी भएको छ ।

वीरगञ्ज भटमासको तेल निकासी हुने मुख्य नाका हो । यो नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका १४ ओटा उद्योगले तेल निकासी गर्छन् ।

गत आव २०७६र७७ को साउनदेखि मङ्सिरसम्मको तुलनामा चालू वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३७९ प्रतिशत बढी भएको वीरगञ्ज भन्सारले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्