काठमाडौं, पुस ७ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा अर्थतन्त्र परिसूचक सकारात्मक देखिएका छन् । विप्रेषण आप्रवाह, आयात निर्यातको असमानता घट्दा व्यापार घाटामा कमी र विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ ।
नेपाल राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष ०७७/७८ को पहिलो चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । मुलुकमा कोरोना कहरयता उच्च सुधारमा रहेको विप्रेषण आप्रवाह चार महिनामा ११.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।
विदेशी मुद्रा सञ्चिति वृद्धि
चालू आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी मुद्रा सञ्चिति ७.४ प्रतिशतले वृद्धि भएको छ । ०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा १५ खर्ब छ अर्ब छ करोड रुपियाँ पुगेको छ ।
घट्यो व्यापार घाटा
व्यापार घाटा १२.५ प्रतिशतले घटेको छ । यस अवधिमा व्यापार घाटा तीन खर्ब ६२ अर्ब २९ करोड रुपियाँ कायम भएको नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको पहिलो चार महिनाको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले ह्रास आएको थियो ।
आयातमा कमी
समीक्षा अवधिमा आयात १०.६ प्रतिशतले घटेको छ । यस अवधिमा चार खर्ब दुई अर्ब ४९ करोड रुपियाँको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६.९ प्रतिशतले घटेको थियो । भारतबाट हुने आयात ३.१ प्रतिशतले घटेको छ भने चीनबाट हुने आयात २५ प्रतिशतले घटेको छ । तेस्रो मुलुकबाट हुने आयात पनि १९.८ प्रतिशतले घटेको आजको गोरखापत्र दैनिकमा खवर छ ।