Logo

राज्यको कल्याणमा संलग्न हुन आग्रह



काठमाडौं, पुस ७ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण विद्यावारिधि र विषयगत उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई मात्रै उपस्थित गराएर सोमबार ४६औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

त्यस अवसरमा २०७६ असार १ गतेदेखि २०७७ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ग्रेसलिस्टमा समावेश भएका विद्यावारिधि, एमफिल, स्नातकोत्तर र स्नातक तह गरी ५६ हजार ७१३ जना विद्यार्थीलाई दीक्षित गरिएको छ । औपचारिक कार्यक्रममा भने विद्यावारिधि र विषयगत उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई मात्रै बोलाइएको थियो ।

त्यस अवसरमा भिडियो क्लिपमार्फत सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित विद्यार्थीलाई राज्यको कल्याणमा संलग्न हुन आग्रह गरेका छन् । उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले खेलेको अग्रणी भूमिकाको प्रशंसा गर्र्दै उनले प्राविधिक दक्ष जनशक्ति निर्माण गरी मुलुकको रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षाको अवसरबाट कोही वञ्चित हुन नपरोस् भन्दै शिक्षालाई केही व्यक्ति वा वर्गमा सीमित गर्न नहुने बताए। मुलुकमा गरिखाने शिक्षाको टड्कारो आवश्यकता रहेको चर्चा गर्दै उनले राज्यले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिए ।

शिक्षामा व्यापारीकरण, निजीकरण तथा दलीय प्रभाव बढेको, सही नीति कार्यान्वयन गर्न राजनीतिक सोच र प्रतिबद्धताको अभाव भएको उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot