Logo

मध्यावधि निर्वाचनको तयारी थाल्न आयोगलाई पत्र



काठमाडौं, पुस ७ । सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि तय भएको मध्यावधि निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र दिइसकेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् विघटन प्रस्ताव स्वीकृत भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयुक्तहरुको बैठक बसेको थियो । बैठक बसेलगत्तै निर्वाचन आयोगलाई निर्वाचनको तयारी अघि बढाउन पत्र दिइएको आयोगले जनाएको छ ।

सो बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुई चरणको साटो एकै चरणमा निर्वाचन गर्दा खर्च अलि कम हुने भन्दै चुनावी खर्च बढ्न सक्ने संकेत गरेका छन् । आयोगका अनुसार मध्यावधि निर्वाचन गराउन कम्तीमा १२ अर्ब रुपियाँ आवश्यक पर्छ ।

घोषणा गरेलगत्तै निर्वाचन हुने र नहुने चर्चा शुरु भएको छ । कोरोना महामारीले समग्र अर्थतन्त्र थला परेका बेला राज्यलाई अबौँ रकम थप भार हुने गरी चुनाव गराउने निर्णय सही होरु भन्ने कोणबाट प्रश्न उठाउन थालिएको छ ।

कोरोना महामारीका बेला मध्यावधि निर्वाचनको घोषणा भएसँगै त्यसका लागि खर्च कसरी जुटाउने भन्ने दबाब सरकारलाई पर्दै गएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि कम्तीमा १२ अर्ब रुपियाँ खर्च आवश्यक पर्छ । २०७४ मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भएको खर्चलाई आधार लिँदै आयोगले सो रकमको अनुमान गरेको हो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्