Logo

निर्वाचनमा जुट्न प्रधानमन्त्री ओलीको आह्वान



काठमाडौं, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न देशबासीलाई आह्वान गरेका छन् । उनले निर्वाचन हुने विषयमा कुनै आशंका नगर्न अपिल गर्दै निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका हुन् ।

संसद् विघटन भएपछि सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरिएपछि आफ्नो सामु सार्वभौम जनतासमक्ष जानुको विकल्प नरहेको बताए ।

सतहमा हेर्दा हिजो विकसित घटनाक्रम अप्रत्यासित र आकस्मिकजस्तो देखिए तापनि यो परिस्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मूलतः सत्तारूढ नेकपाका केही नेताका असंगत, विकृत र जनअपेक्षाविपरीतका गतिविधिद्वारा सिर्जना भएको उनले बताए ।

‘पाँच वर्षको सरकारको नेतृत्वपछि सुयोग्य नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने र महाधिवेशनद्वारा पार्टीको कार्यकारी जिम्मेवारीबाट अवकाश लिने घोषणासमेत गरें । मुलुकको जटिल अवस्थामा नियमित महाधिवेशन हुन नसक्ने हो भने पनि विशेष महाधिवेशन गरेर अध्यक्ष पद हस्तान्तरण गर्न इच्छा गरें र योजना प्रस्तुत गरें । तर महाधिवेशनका लागि साथीहरुले ४ महिना पनि कुर्न सक्नुभएन । उल्टै मेरो राजनीतिक चरित्र हत्या गर्ने गरी अत्यन्त लाञ्छित र अपमानित गर्दै आरोप–पत्र पेस गर्नुभयो।’ –सम्बोधनका क्रममा ओलीले बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्