अपामार्गलाई दतिउन पनि भनिन्छ । अचेल, विशेष गरी ऋषिपञ्चमकिा दिन नारीहरुले र ऋषि तर्पणीका दिन पुरुषहरुले दाँत माझ्न र नुहाउन अपामार्गको प्रयोग गर्छन् । यद्यपि कआजको जस्तो दाँत माझ्ने ब्रस र मञ्जनको प्रचलन नभएको कालखण्डमा अधिकांशले दाँत माझ्न प्रयोग गर्ने महत्वपुर्ण वनस्पति थियो अपामार्ग ।
अपामार्ग एउटा विशिष्ट वनस्पति हो । लेकदेखि वेशीसम्म सुख्खा या चिस्यान ठाउँमा जताततै पाइने यो वनस्पति वर्षा ऋतुमा उम्रिएर शरद् ऋतुमा फुल्ने अनि हिउँदमा फल्ने गर्छ । यो वनस्पतिको जीवनचत्र एकवर्षको हुन्छ । यसको फल छिप्पिएको बेला टाँसिने हुनाले यसलाई चलनचल्तीको भाषामा ‘उल्टो कुरा’ पनि भन्ने गरिन्छ । चामल जस्तै देखिने यकिा बीउलाई अपामार्ग तण्डुल भनिन्छ ।
संस्कृतमा यसलाई अपमार्ग, खिरी, अधशल्य, मयुरक, मर्कटी, दुग्र्रहा, किणिही, खरमंजरी, प्रत्यक्फुली आदि नामले चिनिन्छ भने नेपालीमा चलनचलती नाम दतिउन हो । अपामार्गका दुई प्रजाति पाइन्छन्–रातो र सेतो । सेतो अपामार्गको डाँठ र पातहरुमा सेता फुस्रा थोप्लाहरु हुन्छन् चने रातो अपामार्गमा राता थोप्लाहरु हुन्छन् । यी दुईमध्ये सेतो अपामार्गलाई श्रेष्ठ मानिन्छ ।
विशेष गरी दाँतसम्बन्धि रोग, घाउ–लुतो जस्ता चर्मरोग, पेटमा पाचनतन्त्रको विकार, खोकी, मुत्र रोगसहित अनेक प्रकारका कशारीरिक समस्यामा अपामार्गका औषधिय गुणबाट लाभ मिल्छ । अपामार्गले दतिउन गर्नाले वृद्धावस्थासम्म पनि दाँत बलिया रहन्छन् । यसर्थ अपामार्गकले नै नियमित दतिउन गर्नेले ताजा अपामार्ग नभेटिएमा सुख्खा अपामार्गको डाँठलाई पानीमा भिजाएर पनि दतिउन गर्छन् । दाँत दुखेको अवस्थामा अपामार्गको पातको रस दुखेको दाँतमा लगाउँदा पीडा शान्त हुन्छ । मुखको घाउ–खटिरा भएमा अपामार्गका पात उमालेर काढा बनाएर त्यसले कुल्ला गर्दा विसेक हुन्छ ।
औलो ज्वरोमा अपामार्गको पात तीन, चार दिनसम्म प्रयोग गर्नाले निको हुन्छ । लुतो, घाउ–खटिरामा अपामार्गको जरा, डाँठ, फुल, फल बराबर मात्रामा पानीमा उमालेर नुहाउँदा निको हुन्छ । चर्मरोगमा अपामार्गका पात पिसेर लेप गर्ने पनि गरिन्छ । यसबाहेक अपामार्गको उपयोग आँखा, टाउको, पेट आदिसँगै तौल बढाउन–घटाउन पनि गरिन्छ । यी उल्लेखित फाइदाहरुका कारण अपामार्ग औषधिय गुणहरुले भरिपुर्ण वनस्पतिका रुपमा स्थापित छ । तर, यसका गुणहरु बुझेर यथोचित संरक्षण र सम्बद्र्धन गरिनुपर्छ । यसलाई खेतबारीका कान्लाहरुमा सजिलैसँग लगाउन सकिन्छ । र, यसलाई घाँसको रुपमा पनि प्रयोग गर्न सकिन्छ । त्यसैले यसको व्यावसायिक खेतीले जनजीवनमा सुधार ल्याउने कुरामा दुई मत छैन् ।