Logo

ओलीको चुनावी योजना: ५० लाख मत, १२० सिट



काठमाडौं, पुस ८ । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् ।

मंगलबार आफू निकट केन्द्रीय कमिटीका सदस्यको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने गरी चुनावी अभियान थालिने बताएका हुन् । उनले सो निर्वाचनमा समानुपातिकतर्फ ५० लाख भोट ल्याउने गरी निर्वाचन अभियान थाल्न सम्पूर्ण केन्द्रीय सदस्य र आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले प्रत्यक्षतर्फ कम्तीमा १२० सिट ल्याउने गरी चुनावी अभियानलाई व्यवस्थित पारिने योजनासमेत सुनाए ।

‘हामीले गत निर्वाचनमा दुई पार्टी मिलेर १ सय १६ सिट ल्याएका थियौं । अब नेकपा एक्लैले १ सय २० सिट ल्याउने गरी चुनावी माहोल सिर्जना गर्नेछौं,’ प्रधानमन्त्री ओलीले भने ।

उनले निर्वाचनकै क्रममा आँधीबेहरीका रूपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाउने उद्घोष गरे । ‘आँधीतुफानका रूपमा पार्टीलाई अगाडि लिएर जाँदै छौं । हामी राजनीतिमा सम्पूर्ण ढंगले समर्पित भएर काम गर्छौं । सही विचार र उद्देश्यको तागत दुनियाँलाई देखाउँछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले यसका लागि व्यापक रूपमा पार्टी पंक्ति परिचालन गरिने बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot