Logo

ओली समूहको महाधिवेशन २०७८ मंसिरमा



काठमाडौं, पुस ८ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकले पार्टीको महाधिवेशन २–७ मंसिर २०७८ मा गर्ने निर्णय गरेको छ । साथै सो बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटीसमेत घोषणा गरेको छ ।

ओली समूहको बैठकले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेको हो । १९७ जना सदस्य पछि थपिने नवनियुक्त प्रवक्ता एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले बताए । ९ पुस (बिहीबार) पुनः केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको परराष्ट्र मन्त्रीसमेत रहेका प्रवक्ता ज्ञवालीले बताए ।

ओली समूहको बैठकले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारीबाट हटाउने निर्णय गर्दै प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिने निर्णय गरेको हो । नवनियुक्त प्रवक्ता ज्ञवालीले आफ्नो व्यक्तिगत विचार मात्रै पत्रकारका माझमा राख्ने गरेकाले श्रेष्ठलाई हटाउने निर्णय भएको बताए ।‘पार्टीको कुराभन्दा पनि व्यक्तिगत कुरा गरेकाले जिम्मेवारी हेरफेर गरिएको हो । प्रवक्ताको जिम्मेवारी मलाई दिइएको छ,’ ज्ञवालीले भने ।

ओली समूहको केन्द्रीय कमिटी बैठकमा दाहाल र नेपाललाई अनुशासनको कारबाही गर्नुपर्ने माग सदस्यहरूले गरेका छन् । तर प्रधानमन्त्री ओलीले कसैलाई पनि कारबाही नगर्ने र सिंगो पार्टीलाई निर्वाचनमा केन्द्रित गर्ने बताए ।

‘ओलीलाई कसैले हटाउन सक्दैन’
प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री ओलीले संविधानअनुसार नै संसद् विघटन गर्ने प्रस्ताव गरेको बताए । काम गर्न नपाएपछि ताजा जनमतमा जानुपरेको उनले बताए । दृष्टिदोष भएकाले मात्रै संविधानविपरीत भएको तर्क गर्ने उनले दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट कसैले हटाउन नसक्ने बताउँदै उनले नेकपा किचलोमा विदेशीको हात नभएको दाबी गरेका छन् । ‘आफ्नो थैली बलियो नबनाउने अनि अरूलाई दोष दिने?’ ज्ञवालीले प्रश्न गरे । बैठकपछि ओली समूह पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा पुगेर बैठकका निर्णयसहित निवेदन दिएको छ ।

ओलीलाई कारबाही, अध्यक्षको जिम्मेवारीमा नेपाल
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट कारबाही गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्