Logo

४ महीनामा ४५ हजार नेपाली विदेशिए



काठमाडौं, पुस ८ । स्वदेशमा नै रोजगारीको अवसर नपाउँदा कोरोना संकटमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । सरकारले कोरोनाका कारण विदेशबाट फर्केका नेपाली कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना गर्न नसक्दा कोरोना त्रासकै बीच पनि नेपाल फर्किएका र नेपालमै रहेका युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका हुन् ।

आर्थिक वर्षको पहिलो चौमासमा ४५ हजार १८२ जना कामदार विदेशिएका छन् । त्यसमा २५ हजार ९३१ जना कामदार पुनः श्रमस्वीकृति अर्थात् बिदामा आएर श्रमगन्तव्य मुलुकमा गएका हुन् । बाँकी १९ हजार २५१ जना कामदार भने नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता टीकाराम नेउपानेले रोजगारका सम्बन्धमा सरकारबाट विशेष कार्यक्रम नआउँदा कोरोना संकटमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको बताए । ‘कोरोना विपद् शुरू हुँदा विदेशमा नेपालीहरूले रोजगार गुमाउन थालेपछि सरकारले नेपालमै रोजगारी दिने आश्वासन देखायो । तर, त्यसमा उपलब्धि केही भएन,’ उनले भने, ‘त्यसैले यस्तो विषम परिस्थितिमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।’ नेपाल फर्किएका र यहाँ भएका कामदार पनि पूर्ण रूपमा विदेशिने उनको अनुमान छ ।

‘अहिले मुलुक राजनीतिक अस्थिरतामा छ । यो अवस्थामा सरकारबाट थप कार्यक्रम आउन सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले अधिकांश युवा विदेशिन बाध्य हुने देखिन्छ । पछिल्लो ट्रेन्डले यही देखाएको छ ।’

यो संख्या गत आवको सोही अवधिको भन्दा कम हो । तर, कोरोना संकटमा पनि यतिका कामदार विदेशिनुलाई महत्त्वका साथ हेरिएको वैदेशिक रोजगार विभागको भनाइ छ ।तथ्यांकअनुसार चालू आवको पहिलो चौमासमा गत आवको यही अवधिको दाँजोमा बैदेशिक रोजगारमा जाने कामदारको सख्या ७१ दशमलव ८६ प्रतिशतले घटेको छ ।

गत आवको कात्तिकसम्म नेपालबाट कुल १ लाख ६० हजार ५७० जना कामदार बैदेशिक रोजगारमा गएका थिए । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्