Logo

पेट्रोलियम पाइपलाइनको सर्वेक्षण



काठमाडौं, पुस ८ । सिलगुढी—झापा पेट्रोलियम पाइपलाइन परियोजनाको विस्तृत इन्जिनियरिङ सर्वेक्षण सम्पन्न भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन समूहले सर्वेक्षण सम्पन्न गरेको हो ।

यो कदमपछि परियोजनाको प्रारम्भिक चरण सम्पन्न भएको नेपाल आयल निगमले जनाएको छ । सर्वेक्षणले झापाको चारआलीदेखि मेची भन्सार हुँदै भारतीय सीमा सम्मको नेपाल तर्फको १५ किलोमिटर पाइपलाइनको ‘रुट’ पहिचान गरेको हो । पूर्वपश्चिम राजमार्ग र मेची राजमार्ग हुँदै पाइपलाइन बिछ्याइने निगमका निर्देशक तथा नेपालतर्फको संयुक्त अध्ययन समूहका संयोजक वीरेन्द्र गोइतले जानकारी दिए ।

संयुक्त अध्ययन समूहले पेट्रोलियम पदार्थ भण्डारण स्थलको पनि लेआउट तयार गरेको छ । उहाँले भन्नुभयो, “चारआलीमा निर्माण हुने पेट्रोलियम पदार्थको भण्डारको संरचना पनि तयारीको अन्तिम चरणमा छ । पाइपलाइनको सर्वेक्षण सम्पन्न भएको छ । अब डीपीआर तयार हुनेछ । यी काम पनि डीपीआर अन्तर्गतकै काम हुन् ।’’
पाइपलाइनबाट आएको पेट्रोलियम पदार्थलाई चारआलीमा भण्डारण गरिने छ ।

कुल ४१ हजार ६५० किलोलिटर क्षमताको पेटोलियम पदार्थ भण्डारण निर्माण हुनेछ । जसमा १२ हजार किलोलिटर पेट्रोल, २८ हजार किलोलिटर डिजेल, चारसय किलोलिटर मट्टितेल र १२ सय किलोलिटर हवाई इ

न्धन भण्डारण क्षमताको निर्माण गरिने छ । यो प्रदेश नम्बर १ लाई ९० दिनसम्म पुग्ने पेट्रोलियम पदार्थको भण्डारण हुनेछ ।चारआलीमा एलपी ग्यास भण्डारण र बोटलिङ प्लान्टको निर्माण कार्य पनि सुरु भएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम अन्तर्गत निगमको बार्षिक कार्यक्रम अनुसार पाइपलाइनको काम अगाडि बढाइएको निगमले जनाएको छ ।

करिब चार हजार मेट्रिक टनको एलपी ग्यास भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण कार्य अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्ति भई कार्य सुरु भइसकेको निगमले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्