Logo

अनलाइनबाटै पुनः श्रम स्वीकृति



काठमाडौं, पुस ८। वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधबारदेखि कार्यान्वयन भएसँगै जो जुन देशमा छ त्यहीँबाटै श्रम स्वीकृति लिन सक्ने छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेकाले बुधबारदेखि जुनसुकै देशबाट सहज रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने जानकारी दिए। उनले भने, ‘‘अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था भएपछि म्याद सकियो भनेर श्रमका लागि मात्रै नेपाल आउनुपर्नेका लागि यो बाध्यता हटेको छ, जसले श्रमिक माथिको आर्थिक भार पनि कम गरेको छ ।”

वैदेशिक रोजगारीमा जाने व्यक्तिले कल्याणकारी कोष र म्यादी बीमा वापतको रकम अनलाइनबाट बुझाउने कार्य सुरू भइसकेको छ । महानिर्देशक दाहालले यस व्यवस्थाका लागि विभागले तोकेका पेमेन्ट गेटवेमार्फत बीमा र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम तिर्न सकिने पनि जानकारी दिए ।

उनले विभिन्न बीमा कम्पनी र पेमेन्ट गेटवेसँग सम्झौता यसअघि नै गरिसकेको जानकारी दिए । ‘‘एकपटक श्रम स्वीकति लिएकाले संसारको जुनसुकै कुनामा बसेर पनि श्रमको रिइन्ट्री अनलाइनबाटै गर्न सक्नेछन् । देशमै आए पनि पुनः श्रम स्वीकति लिन वैदेशिक रोजगार कार्यालय ताहाचलमा जानै नपर्ने गरी अनलाइन प्रणालीको विकास गरेका छौँ’’, उनको भनाई छ ।

विभागका अनुसार आईएमई पे, ईसेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन् । त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको जानकारी पठाउने छ ।

महानिर्देशक दाहालले विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यताको पनि अन्त्य हुने बताउनुभयो । यस खालको सुविधा श्रमिकले दुई पटकसम्म विदेशबाटै श्रम रिइन्ट्रीको सुविधा पाउने गरी व्यवस्था गरिएको छ ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम रिइन्ट्रीको सुविधा दिन सकिने व्यवस्था गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot