वाग्मती, ८ पुस: वाग्मती प्रदेशको राजधानी हेटौँडामा हरेक वर्ष आयोजना हुँदै आएको भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण आगामी माघ ६ गतेदेखि हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन हेटौँडा भेट्रान्स क्लबद्वारा हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालभरका कूल १६ वटा टोलीको सहभागिता रहने जानकारी दिइएको हो ।
प्रतियोगितामा हेटौँडासहित वीरगञ्ज, चितवन, पोखरा, काठमाडौँ, विराटनगर, कोल्बी, जितपुरलगायतका स्थानबाट सहभागिता हुनेछ । प्रतियोगितामा फुटबल क्षेत्रबाट राष्ट्रिय टोलीबाट खेलिसकेका पनि सहभागी हुने पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष दीपक बज्राचार्यले जानकारी दिए।
प्रतियोगिता हेटौँडा उपमहानगरपालिका–४ को लोकतान्त्रिक खेल मैदान हुप्राचौरमा सञ्चालन हुनेछ । प्रतियोगिताका प्रथम हुने समूहले रु एक लाख एक हजार १११, दोस्रोले रु ५१ हजार १११ र उत्कृष्ट खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र समूह कोचलाई समेत जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । पाँचौं संस्करणको उपाधि वगर भाई खेल भेट्रान पोखराले जितेको थियो ।-रासस/File Photo