Logo

यस्तो छ नेकपाभित्रको केन्द्रीय कमिटीमा अंकगणित



काठमाडौं, ८ पौष । नेपाल कम्युनिस्ट पार्टी विभाजित भई केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समूहले फरक फरक निर्णयहरु गरेर अगाडि बढेका छन् । तर, विभाजनपछिको निर्णयको वैधानिकताबारे निर्वाचन आयोगले टुंगो लगाउने छ । दुवै समूहका नेताहरु नेकपा र सुर्य चिन्हमा दाबी गर्दै निर्वाचन आयोग पुगेका छन् ।

संसद बिघटनको अवस्थामा रहेकाले केन्द्रीय कमिटीमा जस्को बहुमत हुन्छ उही वैधानिक हुन्छ । मौजुदा केन्द्रीय कमिटीलाई मान्ने हो भने प्रचण्ड समूह नै वैधानिक नेकपा हो । त्यसमा नेकपाको प्रचण्ड समूह स्पष्ट बहुमतमा छ । उसले मौजुदा केन्द्रीय कमिटीको ३ सय १५ जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।

नेकपामा ४ सय ४७ जनाको केन्द्रीय कमिटी छ । तर, निर्वाचन आयोगमा ४ सय ४१ जनाको नाम दर्ता छ । तर, नेकपामा भने ४ सय ४७ जना केन्द्रीय सदस्य रहेको तथ्यांक छ । मौजुदालाई मान्ने हो भने ४ सय ४१ जनामध्ये हस्ताक्षरकर्ता उही व्यक्ति नै हो भनी सदर गरेर आयोग अगाडि बढ्नेछ । यो अवस्थामा प्रचण्ड समूह नै वैधानिक हुनेछ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षका हैसियतले महासचिव विष्णु पौडेललाई माइन्युट गर्न लगाएर मङ्गलबार केन्द्रीय कमिटी बैठक डाकेका थिए । उक्त बैठकमा मौजुदा ४४७ केन्द्रीय कमिटीलाई विस्तार गरी ११ सय ९९ बनाएको निर्णय गराए । ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य समेत बनाए । ती सबै उनी पक्षधर हुन् । अझै १९६ रिक्त संख्या राखेका छन् । यो निर्णयसहित केन्द्रीय सदस्यको नाम ओली पक्षले मङ्गलबार नै निर्वाचन आयोगमा बुझाएको छ ।

मौजुदा संख्या मान्ने हो भने ओलीलाई पार्टीभित्र केन्द्रीय कमिटीमा बहुमत छैन । थपिएको संख्यालाई मान्ने हो भने उनी बहुमतमा छन् ।

नेकपाको मौजुदा केन्द्रीय कमिटिमा कस्को पल्लाभारी

प्रचण्ड माधवः ३१५ जना केन्द्रीय सदस्य
केपी शर्मा ओलीः १३२ जना केन्द्रीय सदस्य

नेकपाको ओलीले थपेपछिको केन्द्रीय कमिटिमा कस्को पल्लाभारी

प्रचण्ड माधवः ३१५ जना केन्द्रीय सदस्य
केपी शर्मा ओलीः ६८२ जना केन्द्रीय सदस्य
रिक्त संख्याः १९६ केन्द्रीय सदस्य



प्रतिक्रिया दिनुहोस्