Logo

काठमाडौंमै माइनस २ पुगिसक्यो, पहाडी र हिमाली जिल्लाको के कुरा गर्नु?



काठमाडौं, पुस ९ । काठमाडौंमा माइनस २ पुगिसक्यो, पहाडी हिमाली जिल्लामा के कुरा गर्नु, तराई मधेसमा मान्छे मरेको म¥यै छने । चिसोले कठ्यांग्रिएर मजदुर र विपन्न वर्गको बिजोग भएको छ । पूर्वी नेपालको तराई मधेस र पश्चिम नेपालको पहाडी जिल्लाहरुमा बढ्दै गरेको चिसोको कारण झन्डै डेढ दर्जन नागरिकको अकालमै मृत्यु भइसकेको छ । जाजरकोटमा एक साताअघिदेखि फैलिएको भाइरल ज्वरोका कारण नौ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा छन् ।

चिसो बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य चौकीहरुमा बिरामीको चाप पनि बढेको छ । चिसोसँगै भाइरल ज्वरोको प्रकोप अझै बढ्ने सम्भावना देखिएको छ । सम्पन्न व्यक्तिहरुभन्दा विपन्न वर्गमा शीतलहर र भाइरल ज्वरोको प्रकोप देखिएको छ । पश्चिम नेपालको जुम्ला र हुम्ला जिल्लामा तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ । त्यस क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । मुगुमा पनि ५÷६ जना चिसोकै कारण मृत्यु भएको छ ।

तराईका जिल्लामा न्यानो कपडाको अभावमा गरिब र विपन्न समुदायका ज्येष्ठ नागरिकहरुको बर्सेनि चिसोले कठ्याँग्रिएर मृत्यु हुने गरेको छ । बढ्दो चिसोका कारण स्वास्थ्य संस्थाहरुमा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रश्वासका बिरामीको संख्या बढेको छ । चिसोले दम, निमोनिया, कोल्ड डायरिया, घाँटी दुख्नेजस्ता समस्याले पीडित मानिसहरु बढेका छन् । चिसोको मौसमी प्रताडना भोग्नुपरे पनि सरकारले राहतको व्यवस्था गर्न सकेको छैन । तत्काल राहत उपलब्ध गराउन पीडित पक्षले माग गर्दै आएका छन् ।

पश्चिम र पूर्वी तराईमा बाक्लो हुस्सुसहित शीतलहर परेका कारण जनजीवन अत्यन्त कष्टकर बन्न पुगेको छ । चिसोको कहरले हरेक वर्ष गरिब तथा विपन्न मानिसको अकालमै मृत्यु हुने गरे पनि सरकारले न्यानो कपडा वितरण गर्न सकेको छैन । तराईमा फुसको छानामा बस्नेहरुको आङमा न्यानो कपडा नपरेरै मृत्यु हुनुपर्ने नियति छ । महोत्तरी, सिरहा, सप्तरीलगायत धेरै जिल्लामा बसोबास गर्ने मुसहर, माझी, दलितलगायतका समुदाय चिसोको चपेटामा परेका छन् । उनीहरुलाई चिसोको कहरबाट जोगाउन ज्यान छोप्ने न्यानो लुगा र ओढ्ने–ओछ्याउनेको प्रबन्ध गर्नुका साथै चिसोका कारण बिरामी पर्नेहरुलाई उचित उपचारको व्यवस्था मिलाउन जरुरी देखिन्छ ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्