Logo

‘न्यायको परम्परा देखाइदिनुस् श्रीमान्’



काठमाडौं, पुस ९ । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको मागसहित परेको रिट निवेदनमाथि बुधबार पहिलो सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले १२ वटा रिट निवेदनमाथि अन्तरिम आदेश नदिई शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेगरी पेस गर्न आदेश दिएको हो ।

‘संविधानको धारा ७६ ९१०, ९७० र धारा ८५ को व्याख्यासँग सम्बन्धित भएकाले प्रस्तुत निवेदन नियमअनुसार गरी संवैधानिक इजलासमा पेस गर्नू,’ आदेशमा भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएका छन् । सबैको चासोका रूपमा हेरिएको सो मुद्दालाई सर्वोच्चले कुनै आदेश नदिई संवैधानिक इजलासमा पठाएको छ ।

इजलासमा के–के भयो ?

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसारमा कुनै संविधानले बिनाकसुर संसद् भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिइएको जिकिर गरे । ‘माधव नेपाल र पुष्पकमल दाहालसँग रिस उठेर रुल अफ ल मिच्न पाइँदैन । निर्वाचनले पनि तानाशाह जन्माउँछ,’ इजलासमा बोल्दै कानुन व्यवसायीका गुरुदेव भण्डारीले भने, ‘न्यायिक जगत्, न्यायको परम्परा देखाइदिनुस् श्रीमान् । जब गोलमाल हुन्छ, तब संसद्मा बाढी आउँछ । त्यो बेला न्याय बोल्नुपर्छ । अन्तर्राष्ट्रिय मर्यादा देखाइदिऊँ । यो देशमा तानाशाह प्रधानमन्त्री चाहेका छैनौं ।’ उनले भने, ‘तीन वर्षमा जनताले के पाए रु कानुन काटिए । एकाधिकार बढेको छ । पार्टीको झगडालाई लिएर संसद् विघटन गर्न पाइन्छ ?’

वरिष्ठ अधिवक्ता शम्भु थापाले देशमा आजीवन प्रधानमन्त्री हुन खोजेकाले देशको अवस्था बिग्रेको बुधबार बहसका क्रममा बताए । उनले संविधानमा कतै नभएको अधिकारमाथि टेकेर प्रधानमन्त्रीले काम गरेको जिकिर गरे । ‘संविधानको धारा ७६ को १ र ७ मा प्रधानमन्त्रीको वैधता अधिकार कहाँ छ ? हिजोको संविधानमा थियो, अहिले तोक लगाउने अधिकार कहाँ छ ?’ थापाको जिकिर थियो । त्यसैगरी वरिष्ठ अधिवक्ता हरिहर दाहालले बाहिर चलेका हल्ला निराशालाई चिर्न अन्तरिम आदेशसहित पूर्ण इजलासमा लैजानेगरी निर्णय गर्न प्रधानन्यायाधीशसमक्ष इजलासमा आग्रह गरे ।

‘लहडमा गरेका निर्णयले मान्यता पाउनुहुँदैन । अधिकारको ठूलो दुरुपयोग भएको छ । सरकार बनाउने विकल्प हुँदाहुँदै चरणचरणका सरकारको परिकल्पना गरेको छ,’ उनले बहसमा भने, ‘मुलुकमा पहिलोपटक दुई तिहाइ भएको बेला राजा महेन्द्रले जस्तै प्रधानमन्त्री ओली आफैंले सिध्याए ।’ नेकपाका प्रमुख सचेतक देव गुरुङलगायत चारजना सांसदले दर्ता गरेको नेकपाको तर्फबाट ५० भन्दा बढी कानुन व्यवसायी बहसका लागि तयार रहेको अधिवक्ता गोविन्द शर्मा बन्दीले इजलाससमक्ष बताएका थिए । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्