Logo

तानातानमा नेता



काठमाडौं, पुस ९ । सत्तारुढ दल नेकपामा विभाजन आए पनि सचिवालयकै दुई नेता उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा कतै खुलेका थिएनन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवैले गौतम र थापालाई आआफूतिर तान्न निकै दौडधुप गरेका थिए। यद्यपि, मन्त्री थापा बुधबारदेखि प्रधानमन्त्री ओलीका पक्षमा खुलेका छन्।

थापाले बुधबार बिहान ओलीसँगको छलफलपछि आफू उक्त समूहतिर लाग्ने निर्णय लिएका हुन्। पूर्वमाओवादी धारका थापाले यससँगै दाहालसँगको लामो राजनीतिक सहयात्रा छाडेका छन्। यसले शीर्ष नेताहरू तहमै विगतको पार्टीको धार पनि भत्किएको छ। दाहालसँग एमाले धारका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायत नेता छन्। ओलीतिर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायत पूर्वमाओवादी धारका नेता छन्।

मन्त्री थापाले बुधबारैै आफू ओलीतिर लाग्ने निर्णयमा पुगेको निकटका नेताहरूलाई सुनाएका थिए। ओलीले उनलाई आफूपछि दोस्रो नम्बरको नेता बनाउने वचन दिएको थापाको सचिवालयले जनाएको छ। उनले बुधबारै दाहालसँग खुमलटारमा भेट गरेका थिए। दिउँसो बानेश्वरमा पुनः दाहालसहितका नेतासँग छलफल गरेका थिए। तर, अन्तिममा उनले ओलीतिरै आफूलाई खुलाउने निर्णय गरेका हुन्।

एकता गर्दा नेकपा केन्द्रीय समितिमा थापा पक्षका ३४ केन्द्रीय सदस्य थिए। त्यसमध्ये थापासहित प्रदेश ५ का आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी, राजनीतिक सल्लाहकार सूर्य सुवेदी (पथिक) र केन्द्रीय सदस्य दावा लामा दुवैतिरका भेला र बैठकमा नगई बसेका थिए। थापाले बुधबार ती तीन नेतालाई मन्त्री क्वार्टरमै बोलाएर आफू ओलीतिर खुलेको र ओलीलाई वचन दिएर आएको जनकारी गराएका थिए।

थापालाई ओलीतिर नखुल्न उनी पक्षका नेताहरूको चर्को दबाब थियो। तर, ओलीतिरै खुलेपछि भने उनलाई तीन नेताले पनि साथ नदिने संकेत गरेका थिए। त्यसपछि थापा निवासमा बिदाइ भेट गरेर उनीहरू निस्केको स्रोतले बताएको छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्